मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार बिहान भएको सुमो दुर्घटनामा दुई नेपालीसहित आठ भारतीय नागरिक घाइते भएका छन् । घाइते १० जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सवारी दुर्घटनामा सुमो चालक पर्सा वीरगञ्ज महानगरपालिका घर भइ ललितपुर बल्खु बस्ने ३३ वर्षीया जाकिर मिया र बारा आदर्श कोतुवाला गाउँपालिका–७ का औसान अन्सारी घाइते हुनुभएको हो ।
दुर्घटनामा काठमाडौँ महानगरपालिका–१४ कालीमाटीस्थित एउटै गारमेन्टमा काम गर्ने भारतीय नागरिक ५० वर्षीय सोभरती अन्सारी, ३० वर्षीय सुनिल राम, ३५ वर्षीय प्रदिप राम, ४४ वर्षीय मोहमद मुस्लिम, २४ वर्षीय अनिल राम घाइते हुनुभएको हो ।
त्यस्तै सुमो दुर्घटनामा भारत घर भइ हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटार बस्ने ४० वर्षीय सन्तोष रन्जन, ६१ वर्षीय सतेन, २० वर्षीय अफरोज आलम घाइते हुनुभएको हो । घाइतेहरूको टाउको, शरीरका विभिन्न भाग, घाटी, छाती, खुट्टा, कुम, हातमा चोट लागेको छ । उहाँहरूको काठमाडौँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहाले जानकारी दिनुभयो ।
शनिबार बिहान ७ः२० बजेको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
