हलेसीमा चाम्लिङ सामुदायिक होम–स्टे : ब्रान्डिङ गरिएको कोदोको रक्सी बिक्री सुरु
खोटाङ, २ साउन । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्कका राई चाम्लिङ समुदायले सामुदायिक होम–स्टे (घरवास) सञ्चालनमा ल्याएका छन् । साउन–२ गतेदेखि औपचारिक उद्घाटन गरिएको होम स्टेसँगै ब्रान्डिङ गरिएको कोदोको तीनपाने रक्सीको बिक्री वितरणसमेत सुरु गरिएको छ ।
पर्यटकलाई स्थानीय अर्गानिक परिकारको स्वाद चखाउने र चाम्लिङ राई समुदायको संस्कृति अनुभूति गराउने उद्देश्यसहित होम–स्टे सञ्चालनमा ल्याइएको सञ्चालकहरूले जनाएका छन् । त्रिधार्मिकस्थल हलेसीबाट करिब एक किलोमिटर दूरीमा रहेको यो होम–स्टे पर्यटकको रोजाइमा पर्ने विश्वास गरिएको छ ।
होम–स्टेमा आउने पाहुनाले लोकल कुखुराको मासु, ढिँडो, गुन्द्रुकको अचार लगायतका परिकारसँगै स्थानीय संस्कृति नजिकबाट बुझ्ने अवसर पाउनेछन् । ‘कोदोको सुगन्ध, संस्कृतिको सम्बन्ध’ नारासहित सुरु गरिएको होम–स्टेमा आउने पाहुनाका लागि सस्तो दररेट निर्धारण गरिएको छ ।
...









