Monday, April 20

आगामी पुसमा मझुवागढी कालिका भगवती वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता

खोटाङ, १७ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा मझुवागढी कालिका भगवती वडा स्तरिय पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको तयारी गरिएको छ । वडा कार्यालय लफ्याङको आयोजना तथा नमुना स्पोर्टस् क्लवको सह–आयोजनामा आगामी पुस २० गतेदेखि पुस २७ गतेसम्म वडा स्तरिय पुरुष फुटबल प्रतियोगीताको तयारी गरिएको हो ।

असोज १७ गते दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा नमुना स्पोर्टस् क्लवका अध्यक्ष सविन राई ‘विज्ञान’ले प्रतियोगीताको दोश्रो संस्करणको तयारी गरेको जानकारी दिए । २०७७ सालमा मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कपको नामबाट सञ्चालन गरिएको प्रतियोगीतालाई यसपल्ट मझुवागढी कालिका भगवती दोश्रो संस्करण एलाभेन साइड खुल्ला अन्तर वडा स्तरिय पुरुष फुटबलको नामबाट सञ्चालन गर्न लागिएको हो ।

स्थानीय रणजितमान राई खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीताका विजेतालाई १ लाख ५१ हजार १११ र उपविजेतालाई १ लाख १ हजार १११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । यस्तै, सेमीफाइनलिष्ट टिमलाई प्रतिटिम ३५ हजार ५५५ को साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिने नमुना स्पोर्टस् क्लवका पुर्वअध्यक्ष एबं जिल्ला फुटबल संघका महासचिव काजीमान राईले बताए ।

यस्तै, बेष्ट डिफेण्डर, बेष्ट मिड प्लेयर, बेष्ट किपर, बेष्ट कोच, हाइ स्कोरर र बेष्ट प्लेयरलाई जनही पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

हरेक टिमले जिल्लाभित्रका चार जना र जिल्ला बाहिरका तीन जना खेलाडी समावेस गर्न पाउनेछन् । तर ‘ए’ डिभिजनका खेलाडीले खेलमा सहभागी हुन नपाउने अध्यक्ष राईले बताए ।

करिब १७ लाखको खर्च हुने अनुमान गरिएको प्रतियोगीताका लागि टिम दर्ता शुल्क पाँच हजार पाँच सय तोकिएको छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष दिनेश घिमिरे, पुर्ववडाध्यक्ष निर्मल राई लगायत उपस्थित थिए ।