Monday, April 20

उपभोक्ताको टोलमै पुगेर योजना सम्झौता गर्न अभियान

खोटाङ, १९ मङ्सिर । खोटेहाङ गाउँपालिकाले स्थानीय उपभोक्ताको घर तथा टोलमा पुगेर गाउँपालिकाद्धारा स्वीकृत योजना तथा कार्यक्रम सम्झौता अभियान शुरु गरेको छ । अभियान अन्तरगत चालू आर्थिक वर्ष २०८१÷०८२ मा गाउँसभाबाट स्वीकृत भएका वडास्तरीय, पालिकास्तरीय तथा प्रधानमन्त्री रोजगार कार्यक्रमहरु स्थानीय उपभोक्तासँग सम्झौता गर्नुका साथै अभिमुखीकरण कार्यक्रमसमेत शुरु गरिएको हो ।

स्वीकृत भएका योजना सम्झौता गर्न गाउँपालिकासम्म धाउनुपर्दा सम्बन्धित उपभोक्ता समिति र व्यक्तिको अधिक खर्च हुने तथा समय समेत खेर जाने भएकाले वडा तथा गाउँटोलमै पुगेर जनतालाई सेवा दिन अभियान शुरु गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो । “अभियानको पहिलो दिन मङ्सिर–१८ गते वाप्लुखामा चारवटा योजनाको सम्झौता, बैङ्क खाता खोल्ने र आठजना व्यक्तिसँग प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौता तथा लिकुवापोखरीमा छवटा योजनाको सम्झौता, बैङ्क खाता खोल्ने र सात जनासँग प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौता गरिएको छ”, उहाँले भन्नुभयो, “मङ्सिर–२० गते चिप्रिङ र इन्द्रेणीपोखरी, मङ्सिर–२१ गते खोटाङबजार र सिम्पानी तथा मङ्सिर–२२ गते लिच्कीराम्चेमा योजना तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौतासँगै बैङ्क खाता खोल्ने कार्यक्रम राखेका छौँ । अभियानले स्थानीय उपभोक्तालाई सङ्घीयताको प्रत्यक्ष महसुस भएको छ ।”

अभियानको दोस्रो दिन हिजो (मङ्सिर–१९ गते) सावाकटहरेमा तीनवटा योजनाको सम्झौतासँगै बैङ्क खाता खोल्ने र छ जना बेरोजगार युवासँग प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौता गरिएको जनाइएको छ । वडा–वडामा योजना सम्झौताका लागि गाउँपालिका प्रमुख राई, उपप्रमुख एवम् अनुगमन समिति संयोजक रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत महेश राईसहित योजना शाखाका कर्मचारी, प्राविधिक, रोजगार संयोजक र राष्ट्रिय वाणिज्य बैङ्क खोटाङबजारका कर्मचारी खटिएका छन् ।