Monday, April 20

फोक्सिङटार पुल निर्माणका लागि प्रचण्डलाई ध्यानाकर्षण–पत्र

खोटाङ, २० असोज । वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारी खोटाङले बाढी पहिरोका कारण क्षतीग्रस्त भौतिक संरचना तत्काल निर्माणका लागि पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् ।

प्रचण्डलाई संयुक्त ध्यानाकर्षण–पत्र बुझाउँदै वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारीले जिल्लाको क्षतीग्रस्त पुल, सडक लगायतका भौतिक संरचना तत्काल निर्माणका लागि पहल कदमी उठाउन आग्रह गरेका हुन् ।

वाइसिएल नेपाल र अखिल क्रान्तीकारीले खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको मोटरेल पुल, मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड, विभिन्न नदी तथा खोलामा बनाइएको झोलुंगेल पुल क्षतीग्रस्त भएको जानकारी गराएको छ ।

विपदको समयमा प्रदेश सरकार र स्थानीय सरकारले चासो दिए पनि पर्याप्त हुन नसकेको भन्दै दुई संगठनले राज्यको संयन्त्रहरुको साथ र हातेमालोको आवश्यकता औंल्याएका छन् । ‘जिल्लाको मुटुको रुपमा रहेको फोक्सिङटार पुल बग्दा जिल्लाको समग्र विकास तथा अन्य क्षेत्रमा ठूलो क्षती पुगेको छ,’ अनेरास्ववियु क्रान्तीकारीका अध्यक्ष डार्विन चाम्लिङ र वाइसिएलका सचिव प्रभात राईले बुझाएको ध्यानाकर्षण–पत्रमा भनिएको छ, ‘भौतिक पुर्वाधार क्षतीले आम खोटाङबासीलाई विकास, सुविधा तथा अन्य विषयमा एक दशक पछि पारेको छ ।’