Monday, April 20

मष्तिष्कघातका कारण सिकिस्त एल्जिनालाई ३ लाख २३ हजार प्रदान

खोटाङ, २० असोज । मष्तिष्कघातका कारण सिकिस्त बिरामी परेकी ६ वर्षीय एल्जिना परियारको उपचारका लागि तीन लाखभन्दा बढी आर्थिक सहयोग जुटाइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, कात्तिकेकी एल्जिनाको उपचारका लागि १४१ जना दाताबाट ३ लाख २३ हजार ४४० रुपैयाँ सहयोग जुटाइएको हो । मष्तिष्कघातका कारण देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट पिडित एल्जिनाको सहयोगका लागि बराहापोखरी सेवा समाज काठमाडौंको ‘ब्यानर’मा सहयोग अभियान सञ्चालन गरिएको थियो ।

विपन्न परिवारका एल्जिनाको उपचार गर्ने खर्च अभाव भएपछि भदौ ९ गतेदेखि सुरु गरिएको ‘एल्जिना परियार बचाऔं अभियान’ असोज १७ गते समापन गरिएको छ । एल्जिनाको उपचारार्थ संकलन भएको रकम बुवा मनोज परियारको खातामा जम्मा गरिएको अभियानका संयोजक एबं बराहापोखरी सेवा समाजका सल्लाहकार इन्द्रबहादुर लिमेलले जानकारी दिए । एल्जिनाको ‘जीवन बचाउ’का लागि बराहापोखरी सेवा समाजमा आवद्धसहित स्वदेश तथा विदेशमा रहेका १३ जना अभियान्ताले सहयोग संकलन अभियान चलाएका थिए ।

घरकी माईली छोरी एल्जिनालाई सुरुमा केही दिन ज्वरो आएको थियो । औषधिउपचार गरेपछि ठीक भएको थियो । पुःन तीन÷चार दिनपछि कडा ज्वरो आएपछि उनको देब्रे हात खुट्टा चल्नै नसक्ने अवस्थामा पुगेको हो । बेहोस अवस्थामा पुगेपछि एल्जिनालाई उदयपुरको गाईघाट हुँदै नोबेल अस्पताल बिराटनगर पुर्‍याएपछि मात्रै मष्तिष्कघात भएको र त्यही कारण प्यारालाइसिसको समस्या निम्तिएको पूष्टि भएको थियो । गत साउन ३२ गतेदेखि नोबेल अस्पतालमा आइसियूमा राखिएकी एल्जिनालाई भदौ अन्तिम साता घरैमा आराम गर्नेगरि डिस्चार्ज दिइएको छ । उनको स्वास्थ्यमा सामान्य सुधार आए पनि होस खुलेको छैन । घरैमा ‘रेष्ट’मा राखेपछि विस्तारै स्वास्थ्यमा सुधार आउने अस्पतालले बताएको छ ।

परिवारको आर्थिक अवस्था नाजुक भएका कारण एल्जिनाको सहयोगार्थ स्वदेसदेखि विदेशसम्म अभियान्ता तोकिएको थियो । आर्थिक अवस्था दयनीय भएको भन्दै वडा कार्यालय बराहपोखरीले पनि आर्थिक सहयोग गर्नका लागि भदौ २ गते सिफारिस दिएको थियो ।

संयोजक लिमेलले केदार आले मगर, प्रकाश बन्जारा (सहयात्री), नगेन्द्र आले मगर, सन्देश मगर, मानबहादुर मगर (अर्जुन), अशोक माले, ईश्वर बन्जारा, ध्यानकुमार पुमा राई, युवराज पौडेल, सचिन परियार, मुकेश परियार, कृष्ण आचार्य, सन्देश राई, पुर्ण बहादुर राई, प्रकाश चाम्लिङ राई, यमकुमार राई लगायतका स्वदेश तथा विदेशमा रहेका अभियान्तालाई धन्यवाद दिएका छन् ।