खोटाङ, २२ असोज । खोटाङमा सुनकोसीमा आएको बाढीले क्षतिग्रस्त बनेको झोलुङ्गे पुल मर्मत गरिएको छ । गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटको झोलुङ्गे पुल मर्मत गरिएको हो ।
बाढीले आवत–जावत गर्नै नमिल्नेगरि पुलको लट्ठा चुँडिनुका साथै दायाँ–वायाँको तार जाली बगाएर भ्वाङ परेको थियो । पुलको बिच भागको तारजाली बगाएपछि हिँडडुल नै ठप्प भएको थियो । असोज १४ गते सामान्य मर्मत गरेर आवत–जावत गर्न मिल्ने बनाइएको पुल असोज १९ गते थप मर्मत गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताए ।
पुल मर्मतका लागि गाउँपालिकाले तार उपलव्ध गराएको थियो । मिस्त्री लगाएर तारजाली मर्मत गर्न भनिए पनि धाप्लाङघाटका स्थानीयले श्रमदान गरेर भ्वाङ परेको तारजाली टालटुल गरेका छन् । पुलको तारजाली टालटुल पारेपछि बाईक हिँडाउन मिल्ने भएको स्थानीय प्रेम मगरले बताए । बाढीका कारण धाप्लाङघाटको पुल कोल्टिएको छ ।
