Monday, April 20

सिम्पानीमा श्रमदानमार्फत सडक मर्मत

खोटाङ, २४ असोज । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा सडक मर्मत गरिएको छ । गत असोज १२ गतेको भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सिमपानी–कात्तिके सडक नेकपा एमाले वडा कमिटि सिम्पानीको अगुवाईमा श्रमदान मार्फत मर्मत गरिएको हो ।

जताततै पहिरो खसेका कारण र खाल्डाखुल्डी भएका कारण अवरुद्ध सडकमा कम्तीमा बाईक हिँडाउन मिल्नेगरि मर्मत गरिएको छ । बजार र गाउँबिचको टुटेको सम्पर्क पुःन जोड्नका लागि सडक मर्मत गरिएको नेकपा एमाले वडा कमिटिका अध्यक्ष सुवास खड्काले बताए ।

दशैंतिहार भित्रिँदा समेत स्थानीय सरकारले सडक मर्मत नगरेका कारण श्रमदान जुटाएर मर्मत गरिएको एमाले वडा कमिटिले जनाएको छ । एमाले पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, एमाले खोटाङका उप–सचिव राजन बञ्जारा, पालिका कमिटि अध्यक्ष बिकास राई लगायत ५०/६० जनाको सहभागीतामा सडक मर्मत गरिएको हो ।

यस्तै, स्थानीयले सिमपानी बजार र स्वास्थ्यचौकी क्षेत्रमा सरसफाई गरेका छन् ।