Monday, April 20

माओवादीले सम्झियो जनयुद्धका भूमिगत, शहीद परिवार र सेल्टरदाता

खोटाङ, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले जनयुद्धमा भूमिगत भएका, शहीद परिवार र सेल्टरदातालाई सम्मान गरेको छ । माओवादी केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाबाट जनयुद्धमा भूमिगत भएका १६ जना, दुई शहीद परिवार र २२ जना सेल्टरदातालाई सम्मान गरेको हो ।

माओवादी केन्द्र वडा समिति दोर्पाचिउरीडाँडाको दोस्रो सम्मेलनको अवसरमा उनीहरुलाई प्रशंसा तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको जिल्ला संयोजक दीपक पण्डे ‘आकाश’ले जानकारी दिनुभयो । माओवादी केन्द्रले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्धन्द्धकालमा भूमिगत भएका नवराज चौंलागाई, सम्बर राई, काजीराम राई, निरकुमार खड्का, कुलबहादुर खड्का, धुर्ब बुढाथोकी ‘धिरेन’, रमिला बुढाथोकी, बबिता बुढाथोकीलाई सम्मान गरेको छ ।

यस्तै, एकराज बुढाथोकी, उत्तरकुमार राई, इन्द्रकला राई, टेकबहादुर राई, टीकाराम राई, कमला थापा, सुनिता श्रेष्ठ र मेनुका खड्कालाई सम्मान गरिएको छ । माओवादी केन्द्रले जनयुद्धको क्रममा सहादत प्राप्त गरेका राधा भुजेल र इन्दिरा कार्कीको परिवारलाई पनि सम्मान गरेको छ ।

दश वर्षे द्धन्द्धकालमा सेल्टर दिने उत्तम राई, चक्रबहादुर राई, भिमबहादुर बुढाथोकी, डम्बरहादुर बुढाथोकी, टंकबहादुर बुढाथोकी, कृष्णबहादुर थापा, हरिप्रसाद चौंलागाई, मौलबहादुर सार्की, लक्ष्मण मग्राती, होमनाथ खनाल, कृष्ण निरौला पनि सम्मानित भएका छन् । यस्तै, लक्ष्मी ढकाल, महेन्द्र गुरुङ, ढाकमान राई, बिष्णुसरा राई, धनीमायाँ राई, दशरथ राई, दिपक हिङमाङ, दिलराज राई, दिलबहादुर बुढाथोकी, थरप्रसाद खनाल र दिलचक्र राईलाई पनि सम्मान गरिएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज धुर्ब बुढाथोकी ‘धिरेन’, सह–इन्चार्ज सुरेश किराती, प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राई लगायतका नेताहरुले जनयुद्धमा सामेल भएका, शहीद परिवार र सेल्टरदातालाई सम्मान गर्नुभएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव रविन खम्बुले जानकारी दिनुभयो । वडा तथा पालिका अधिवेशनमा जुटेको माओवादी केन्द्र खोटाङले जिल्लाका सबै जनयुद्धमा भूमिगत भएका नेता तथा कार्यकर्ता, शहीद परिवार र सेल्टरदातालाई सम्मान गर्ने जनाएको छ ।

माओवादी केन्द्रको वडा सम्मेलनले पेशल राईको अध्यक्षतामा २५ सदस्यीय वडा समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्षमा विजय राई, सचिवमा सन्तोष थापा, सह–सचिवमा नन्दराज राई र कोषाध्यक्षमा अञ्जु राई चयन हुनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा यही पुस मसान्तभित्र ७९ वटै वडा समितिको वडा सम्मेलन सम्पन्न गर्नेगरी अभियानमा जुटेको माओवादी केन्द्र खोटाङले जनाएको छ । पार्टीको केन्द्रीय तालिकाअनुसार माघ–१५ गतेभित्र पालिका सम्मेलन सम्पन्न गर्ने तयारी गरिएको जिल्ला संयोजक आकाशले जानकारी दिनुभएको छ ।