Monday, April 20

माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गेशकुमार राई चयन

खोटाङ, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिको अध्यक्षमा गेशकुमार राई चयन हुनुभएको छ । ऐसेलुखर्क बजारमा सोमबार साँझ सम्पन्न दोस्रो सम्मेलनले राईको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नन्दिकेशर वन, पुरूषोत्तम राजभण्डारी र नृपध्वज राई, सचिवमा ललित लम्साल, सह–सचिव भक्तबहादुर तामाङ र कोषाध्यक्षमा गीता श्रेष्ठ चयन हुनुभएको प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’ले जानकारी दिनुभयो । सम्मेलनबाट चयन हुनुभएका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय उपमहासचिव एवम् प्रदेश पार्टी ईन्चार्ज हरिबोल गजुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

खबरदारीसभा समेत आयोजिना गरिएको पालिका सम्मेलनमा संविधानसभा सदस्यहरु गोपाल गिरी, दुर्गाजयन्ती राई,  प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’, जिल्ला संयोजकदीपक पाण्डे ‘आकाश’ लगायतको सहभागिता रहेको थियो । माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु वडा सम्मेलन तथा पालिका सम्मेलनका लागि जिल्लाका दशवटै स्थानीय तहमा खटिएका छन् ।

वडा तथा पालिका सम्मेलनका क्रममा विभिन्न पार्टी परित्याग गर्ने नेताहरुको सङ्ख्या उल्लेख्य रहेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो । सम्मेलनका क्रममा जनयुद्धमा सहभागी, शहीद परिवार तथा सेल्टरदातालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।