Monday, April 20

नेत्र ज्योति सङ्घ खोटाङका सभापति र आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख सम्मानित

खोटाङ, २६ पुस । नेपाल नेत्र ज्योति सङ्घ केन्द्रीयसभाले खोटाङ शाखाका सभापति र आँखा उपचार केन्द्र दिक्तेलका प्रमुखलाई सम्मान गरेको छ । काठमाडौँको डिल्लीबजारमा सम्पन्न नेत्र ज्योति सङ्घ केन्द्रीयसभाको २९ औँ अधिवेशन उद्घाटन कार्यक्रममा सभापति ईन्द्र कसजुलाई ‘नारायण शर्मा नेत्र ज्योति सम्मान’ र आँखा उपचार केन्द्रका प्रमुख हरिहर श्रेष्ठलाई ‘नेत्र प्राविधिक सम्मान’ प्रदान गरिएको हो ।

सङ्घका सभापति कसजु र आँखा उपचार केन्द्रका प्रमुख श्रेष्ठले सम्मानपत्रको साथमा रु २५÷२५ हजार राशीको नगद पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । सम्मानितद्धय सभापति कसजु र आँखा उपचार केन्द्र प्रमुख श्रेष्ठलाई नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सभापति कसजु नेत्र ज्योति सङ्घ खोटाङमा दोस्रो कार्यकालका लागि सभापति पदमा पाँच वर्षदेखि सक्रिय हुनुहुन्छ । नेपालको अन्धोपन निवारणमा जिल्ला सभापति कसजुले पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

अर्का सम्मानित आँखा उपचार केन्द्र प्रमुख श्रेष्ठ वि.सं. २०६० वैशाख–१५ गतेदेखि आँखा उपचार केन्द्र दिक्तेलमा नेत्र अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । केन्द्र प्रमुख श्रेष्ठलाई प्राविधिक कर्मचारीहरुमध्ये उत्कृष्ट छनोट गरेर सम्मान गरिएको नेत्र ज्योति सङ्घ केन्द्रीयसभाका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभएको छ ।

डिल्लीबजारस्थित अमृत भोग पाटी प्यालेस कालिकास्थानमा जारी कार्यक्रममा अन्य विभिन्न विद्यामासमेत सम्मान तथा पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । नेत्र ज्योति सङ्घ केन्द्रीयसभाका सभापति प्राध्यापक डा. चेतराज पन्तको अध्यक्षतामा जारी अधिवेशनले सङ्घको भावी नीति तथा कार्यक्रमहरु पारित गर्ने जनाइएको छ ।