खोटाङ, १ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफी खेती प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’ अन्तरगत स्थानीय कृषकलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवद्र्धन कार्यक्रम शुरुवात गरिएको हो ।
नगरपालिकाले शुरुवात गरेको निक्कै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नं.–६ नेर्पामा १२ लाख तथा वडा नं. १४ बुइपामा पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् ।
बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको कफीका बीउ पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन् । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब १०० जना कामदार खटिएका छन् ।
अहिले हुर्कदै गरेका बिरुवा अबको वर्ष दिनपछि किसानलाई विरतण गरिने नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताउनुभएको छ । उत्पादित कफीको बिरुवामा किसानको पनि अपनत्व हुने गरी थोरै शुल्कमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
बेलायती कम्पनीले निःशुल्क बीउ उपलब्ध गराए पनि नर्सरी भने नगरपालिकाको लगानीमा स्थापना गरिएको जनाइएको छ । जग्गा, पाईप, बालुवा, पोलिब्याग, ग्रिननेट, श्रमिक लगायत व्यवस्थापन गरेर अहिलेसम्म रु २० लाख खर्च भइसकेको छ ।
नर्सरीमा उमारिएका कफीका बेर्ना १५ महिनादेखि १८ महिना पुगेपछि किसानलाई बाँड्ने तयारी गरिएको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभयो । “किसानको २५ जनाको समूह बनाएर कर्फीको बिरुर्वा वितरण गर्ने योजना रहेको छ । नर्सरीमा उत्पादित कफीका बिरुवा व्यक्तिगत रुपमा चाहिने किसानलाई पनि उपलव्ध गराइन्छ”, उहाँले भन्नुभयो, “गत वर्ष नगरपालिकाले ४२ हजार ४२० वटा बिरुवा खरिद गरेर किसानलाई बाँडेको थियौँ । त्यसमा रु नौँ लाख १२ हजार ३० लागेको थियो । त्यसले किसानमा कफीप्रति आकर्षण बढाएको छ ।”
कफी प्रवद्र्धन कार्यक्रमका लागि यस वर्ष कोशी प्रदेश सरकारबाट रु १५ लाख बजेट प्राप्त भएको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त रकमले कफीका बिरुवा खरिद गरेर किसानलाई निःशुल्क प्रदान गर्न तयारी गरिएको जनाइएको छ ।
आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर नर्सरी नै स्थापना गरिएको नगरपालिकाले जनाएको छ । खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि नर्सरी स्थापना गरिएको जनाइएको छ ।
कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब रकम भित्रिने आँकलन गरिएको उपप्रमुख विशन राईले बताउनुभयो । “दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका विभिन्न शहरमा बिक्री गर्ने योजना छ । नेपालमा खपत नभएको कफी बेलायत पठाउँछौँ”, उहाँले भन्नुभयो, “प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ । कतिपय कफी प्रशोधन नगरी सिधै बेलायत पठाउने छौँ । त्यसका लागि टेराम्रिदा कम्पनीसँग सम्झौता भइसकेको छ ।”
समुद्री सतहबाट ८०० देखि एक हजार ६०० मिटरको उचाइमा कफी खेती उपयुक्त मानिन्छ । यसअनुसार दिक्तेलको सोल्मा, नेर्पा, दोर्पाचिउरीडाँडा र निर्मलीडाँडामा कफी खेतीको राम्रो सम्भावना देखिएको छ ।
कफीको व्यवसायिक खेती प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष कफी प्रशोधन केन्द्रसमेत स्थापना गर्नेगरी अध्ययन भइरहेको उपप्रमुख राईले जानकारी दिनुभयो । “कफी खेतीको माध्यमबाट नागरिकलाई रोजगार बनाउने योजना छ । उत्पादन भएको कफी प्रशोधन गर्न प्रशोधन केन्द्र बनाउँछौँ”, उहाँले भन्नुभयो, “प्रशोधन गर्न नसकिएको कफी सिधै बेलायत पुग्छ । बजारको कुनै चिन्ता हुँदैन ।”
नगरपालिकाले गरेको अध्ययन अनुसार, नगरपालिका क्षेत्रभित्र कफीको एक करोड २० लाख बिरुवा लगाउने सकिने क्षेत्र रहेको छ । पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा केही वर्ष अघिदेखि कफी खेती हुँदै आएको छ ।
