खोटाङ, ३ माघ । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा शुरुवात गरिएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सीमानामा पर्ने चखेवाभञ्ज्याङमा मङ्गलबार आयोजित एक कार्यक्रमबीच भ्रमण वर्षको औपचारिक उद्घाटन गर्नुभएको हो ।
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास पर्ने विभिन्न स्थानीय तहहरुले आ–आफ्नो अनुकूल महोत्सवहरु आयोजना गरेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई भव्यरुपमा सफल बनाउन आसपासका स्थानीय तहहरुमा सिजनअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको आयोजक आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।
भ्रमण वर्षको पहिलो दिन (मङ्गलबार) भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले चखेवाभञ्याङमा पाँच दिने महोत्सव आयोजना गरेको छ । माघ–५ गतेसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकार, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा कृषि मेला प्रदर्शनी आयोजना गरिएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने स्थानीय तहहरुले जनाएको छ । यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाइएको छ ।
नेपाल सरकारले घोषणा गरेको १०० वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’को प्रचारप्रसार तथा प्रवद्र्धनका लागि भ्रमण वर्ष २०२५ आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिुभयो । “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ भव्य रूपमा सफल पार्ने योजनाका साथ अगाडि बढेका छौँ । यो अवधिमा करिब एक लाख पर्यटक भित्राउन लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “मुन्दुम ट्रेल भर्जिन गन्तव्य हो । पूर्वी पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभाको सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।”
खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट शुरु भएको ‘मुन्दुम ट्रेल’ प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि रोजाइमा पर्ने गरेको छ । वि.सं. २०७५ पुस–२१ गते औपचारिकरुपमा घोषणा गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुख्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका आधारभूत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको छ ।
खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्ग पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने जनाइएको छ ।
हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत नहुने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभएको छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरु रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।
ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।
मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । मानववस्ती कम पाइने ‘मुन्दुम ट्रेल’मा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाहरुले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् ।
