खोटाङ, ३ फागुन । जनता समाजवादी पार्टी नेपाल खोटाङको अध्यक्षमा सुनिल चाम्लिङ राई चयन हुनुभएको छ । पार्टीका केन्द्रीय सहअध्यक्ष रकम चेमजोङको प्रमुख आतिथ्यमा दिक्तेलमा भएको पार्टी पुनः गठन कार्यक्रमबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी राई अध्यक्षमा चयन हुनुभएको हो ।
जसपा नेपालको पुनः गठित ३३ सदस्यीय जिल्ला समन्वय समितिको उपाध्यक्षमा रावाबेँसी गाउँपालिका–६ हौँचुरका गणेश खड्का र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका धनिराम नछुङ, सचिवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका हंशराज राई तथा कोषाध्यक्षमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका शान्तिकला राई चयन हुनुभएको छ । केन्द्रमा उपेन्द्र यादव र अशोक राईले पार्टी विभाजन गरेर छुट्टछुट्टै पार्टी दर्ता गरेपछि खोटाङमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पुनः गठन गरिएको शनिबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
दिक्तेलस्थित इन्द्रेणी होटलमा आयोजित पत्रकार सम्मलनलाई सम्बोधन गर्नुहुँदै पार्टीका केन्द्रीय सहअध्यक्ष चेम्जोङले केपी ओली नेतृत्वको वर्तमान सरकारले ल्याएको छवटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेश देश, जनता र राष्ट्रको हितविपरीत भएकाले उक्त अध्यादेश सरकारले फिर्ता लिनुपर्ने बताउनुभएको छ । “सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश देश, जनता र राष्ट्रको हितविपरीत छ । त्यसको पक्षमा हामी उभिन सक्दैनौँ । यस सम्बन्धी विपक्षमा उभिने भनेर पार्टीले निर्णय नै गरिसकेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय वनजङ्गल अतिक्रमण गर्ने, जथाभावी वन फाँड्ने र अवैधरुपमा बसोवास गरिरहेका मानिसलाई निःशुल्क जग्गा दिनेगरी सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएको छ । यो देश, जनता र राष्ट्रको हितविपरीत छ । राष्ट्र हितविपरीतको भूमि सम्बन्धी अध्यादेश सरकारले फिर्ता लिनुपर्छ भन्ने हाम्रो पार्टीको निर्णय छ ।”
पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य प्रेम राईले नेपालमा जनता समाजवादी पार्टी (जसपा) भन्ने पार्टी नै नरहेको बताउनुभएको छ । नेता राईले वर्तमान सरकार र निर्वाचन आयोगले ऐन विपरीत बल मिच्याइ ढङ्गले जसपा भन्ने पार्टीलाई टिकाइरहेको आरोप पनि लगाउनुभयो ।
पार्टी पुनः गठन कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव राजकुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य डा. कृष्णकुमार राई ‘केके’, केन्द्रीय सदस्य प्रेम राई, प्रदेश अध्यक्ष दीपक याक्खा, किरात राष्ट्रिय समिति अध्यक्ष धनकुमार राई लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जसपा नेपालले दिक्तेलस्थित स्थानीय हेलिप्याडमाथि दश वर्षलाई भाडाको जग्गामा पार्टी कार्यालय निर्माण गरेर सञ्चालन गरेको भए पनि सम्झौता अवधि सकिएकाले अब दिक्तेल बजारमा चाँडै अर्को पार्टी कार्यालय स्थापना गर्ने जनाएको छ ।
दश स्थानीय तह रहेको खोटाङमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) यसअघि नै पुनः गठन गरिएको थियो । गत जेठ–११ गते भएको जसपाको जिल्ला भेलाले निर्मल राईको अध्यक्षतामा १११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गुरुराज राई र नैनकला राई, सचिवमा वीरेन्द्र दर्नाल, सह–सचिवमा टीकाराम राई, शान्तिकला राई, प्रितीराज राई र कोषाध्यक्षमा गन्धमान राई रहनुभएको छ । जसपाको जिल्ला भेलामा केन्द्रीय सदस्य देवराज राई, रमेश राई, सनबहादुर राई, सङ्घीय परिषद् सदस्य राकेश राई र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय महासचिव प्रकाश चाम्लिङ रार्ईको उपस्थिति रहेको थियो ।
