खोटाङ, ४ चैत । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका अग्नीपीडितलाई राहत रकम उपलब्ध गराइएको छ । हिन्दू, बौद्ध किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा गत फागुन–४ गते ग्याँस लिक भइ आगलागी हुँदा पीडित बनेका चार घर स्थानीयवासीलाई पहिलो चरणमा रु २२ लाख राहत रकम उपलब्ध गराइएको हो ।
आगलागी भएको भोलिपल्ट अर्थात् फागुन–५ गते हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले अग्नीपीडितलाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा दुई महिना सहयोग सङ्कलन गर्ने र १५ दिनमा सङ्कलन भएको रकम पीडितलाई दिने निर्णय गरेको थियो । आगलागी भएको १५ दिनमै राहत रकम हस्तान्तरण गर्न नसकिए पनि फागुन मसान्तसम्म सङ्कलन भएको रु २२ लाख राहत रकम आगलागी पीडितलाई उपलब्ध गराइएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।
आगलागीबाट पूर्ण क्षति व्यहोर्नुभएका पदमशेर राई र ओइराख राईलाई रु नौँ÷नौँ लाखका दरले तथा आंशिक क्षति व्यहोर्नुभएका प्रकाशचन्द्र गिरी र भरणशेर राईलाई रु दुई÷दुई लाखका दरले राहत वितरण गरिएको जनाइएको छ । सङ्कलित राहत रकमको चेक नगरप्रमुख राईले पीडितहरुलाई हस्तान्तरण गर्नुभएको छ ।
राहत रकम सङ्कलन अभियान दुई महिनासम्म चल्ने भएकाले इच्छुकहरुलाई सहयोग गर्न आग्रह गरिएको छ । पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा रहेको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्याँस लिक हुँदा लागेको आगोले पूर्णरुपमा घर जल्दा रु चार करोड, पदमशेरकै बायाँपट्टी रहेको ओइराखको न्यू कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र पछाडिसँगै रहेको निजकै काठको दुईतले घर पूर्ण क्षति हुँदा रु दुई करोड ५० लाख क्षति भएको थियो ।
प्रकाशचन्द्रको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा रु ३० लाख र भरणशेरको पारुहाङ होटलको चारतले पक्की घरको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा रु ५० लाख गरी कूल रु सात करोड ३० लाखको क्षति भएको थियो ।
