खोटाङ, ५ चैत । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एउटा विद्यालय र नौँवटा घर तथा गोठ जलेर नष्ट भएको छ । डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनबाट शुरु भएको डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे कार्यालय भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, बाघखोरका रणबहादुर राई, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।
चैत–३ गते राति डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भएर गाउँ पस्दा गएरातिसम्ममा एउटा विद्यालयका साथै नौँवटा घर तथा गोठ जलेर नष्ट भएको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभयो । “गाउँ पसेको डढेलो अहिले नियन्त्रणमा आएको छ । छुम्पाङ क्षेत्रमा लागेको आगो गएराति नै नियन्त्रणमा लिन सफल भयौँ”, उहाँले भन्नुभयो, “नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीय लगायतले गाउँ पसेको डढेलो नियन्त्रणमा लिएका छन् । मैतन्जुको डाँडागाउँस्थित भर्जेडाँडा क्षेत्रमा पर्ने सामुदायिक वनमामा अहिले पनि डढेलो लागिरहेको छ । हामी त्यसलाई नियन्त्रणको प्रयास गरिरहेका छौँ । तत्काल नियन्त्रण गर्न सकिने अवस्था छैन ।”
अहिले डढेलो लागिरहेको सामुदायिक वनको बीच भागमा यसअघि निर्माण गरिएका ग्रामीण सडक भएकाले आसपासमा रहेका गाउँमा फैलिने सम्भवना भने, कम रहेको स्थानीयवासीले बताएका छन् । यद्यपि, सडकभन्दा मुनिपर्ने सामुदायिक वन भने, पूर्णरुपमा जलेर नष्ट हुने देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सामुदायिक वनबाट गाउँमा पसेको डढेलो नियन्त्रणपछि जिल्लाबाट खटिएर गएका नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरीको टोली फर्काइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभएको छ । “डिकुवामा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि सबै सुरक्षा निकायका टोली परिचालन गरेका थियौँ । गाउँमा पसेको डढेलो चाहिँ राति अबेरसम्ममा नियन्त्रणमा लिइएको छ”, उहाँले भन्नुभयो, “डढेलोले ठूलो क्षति गरेको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट तत्काल उपलब्ध गराउन सकिने प्रतिघर परिवार नगद रु १५ हजार तथा त्रिपाल र कम्बल एक÷एक थान उपलब्ध गराएका छौँ । उनीहरुलाई थप राहत र पुनः स्थापनाका लागि सरोकारवाला निकाय सबैसँग पहल भइरहेको छ ।”
आगलागी तथा डढेलोले कृष्णबहादुर राईको गाईको माउबाछा, सम्बरबहादुर राईको दुई माउ बाख्रा र च्यानटारका छोटे राईको दश माउ बाख्रा जलेर मरेको जनाइएको छ । स्थानीय लाङ्मा पाखामा चरनका लागि छाडिएका छोटे राईको दश माउमध्ये सातवटा जलेर मरेको अवस्थामा भेटिएको र तीनवटा भेट्न बाँकी रहेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।
डिकुवामा भएको आगलागीका पीडित घर परिवारलाई नगरपालिकाको तर्फबाट प्रतिघर रु दश हजारका दरले नगद तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको नगर प्रमुख विमला राईले जानकारी दिनुभएको छ । “डिकुवामा भएको आगलागीका घटनाको क्षतिको विवरण आइसकेको छैन । विवरण सङ्कलन गर्न टोली परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “मानवीय क्षति भएको छैन । घटना भएको स्थान सुख्खाग्रस्त क्षेत्रमा पर्ने भएकाले पानी अभाव हुँदा ठूलो क्षति व्यहोर्नुप¥यो ।”
सामुदायिक वनमा लागेको डढेलोले खरबौँको जडीबुटी, काठपात, जङ्गली जनावर तथा चराचुरुङ्गी जलेर नष्ट भएको अनुमान गरिएको छ । रातको समयमा शुरु भएको डढेलो के कारणले लागेको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्लाका अधिकांश सामुदायिक वनमा उपभोक्ता आफैले आगजनी गर्ने गरेको समाचार स्रोतको दाबी छ । हिउँदको समयमा झरेको पात÷पतिङ्गर डढाएर वर्षामा घाँस उमार्नका लागि जानाजान सामुदायिक वनमा आगजनी गर्ने गरेको स्रोतले जनाएको छ ।
