Monday, April 20

नेपाल पत्रकार महासङ्घ युरोप अध्यक्ष केजिनलाई प्रेस सेन्टर नेपालको सम्मान

खोटाङ, २० चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पत्रकार केजिन राई नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष हुनुहुन्छ । प्रेस सेन्टर नेपालका युरोप शाखा इन्चार्जसमेत रहनुभएका पत्रकार राईले वि.सं. २०४७ सालबाट व्यवसायिक पत्रकारिता शुरु गर्नुभएको हो ।

युगध्वनी साप्ताहिक पत्रिकाबाट व्यवसायिक पत्रकारिता शुरु गर्नुभएका पत्रकार राईले चोमोलोङ्मा, काठमाडौँ टुडे, साल्पा, हिमालय, नेपाल टाइम्स दैनिक, लोकपत्र दैनिक, अपराह्न, छानबिन साप्ताहिक, जनमञ्च साप्ताहिक, मध्यान्तर पाक्षिकलगायत विभिन्न पत्रपत्रिकामा काम गर्नुभयो । रहरैरहरको पत्रकारिताले व्यवसायिक पत्रकार बन्नुभएका पत्रकार राई खोटाङबाट प्रकाशित मध्यान्तर पाक्षिकमा सल्लाहकार सम्पादक र लेनमुक (दिव्यदृष्टि)मा सम्पादकसमेत बन्नुभएको थियो ।

नेपाल टाइम्समा रहँदा खेलकुद पत्रकार टोलीको नेतृत्व गर्दै रिपोर्टिङ (समाचार सङ्कलन)का लागि पत्रकार राई स्वीटजरल्यान्डसमेत पुग्नुभयो । नेपाल टाइम्स र लोकपत्र दैनिकका ‘न्युजरुम’ मा धेरै समय काम गर्नुभएका पत्रकार राईले खेलकुद, संसद् र अपराधलाई कार्यक्षेत्र (बिट) बनाउनुभएको थियो ।

पत्रकारिता गर्दागर्दै वि.सं. २०५५ सालमा पोर्चुगल पुग्नुभएका पत्रकार राई हाल बेल्जियम हुनुहुन्छ । सोह्र वर्षदेखि बेल्जियममा रहेर पत्रकारिता गरिरहनुभएका पत्रकार राई प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा सम्मानित हुनुभएको छ ।

प्रवासमा रहेर पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको कदरस्वरुप पत्रकार राईलाई ‘क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिएको आयोजक प्रेस सेन्टर नेपालका निवर्तमान अध्यक्ष विष्णु साप्कोटा ‘जुगल’ले जानकारी दिनुभएको छ । बेल्जियमनिवासी पत्रकार राई नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्ष बन्नुभएपछि युरोप शाखाले आधिकारिक मान्यता पाएको जनाइएको छ ।

रोजगारीको सिलसिलामा बेल्जियममा रहनभएका पत्रकार राई अहिलेसम्म पनि पत्रकारिताबाट टाढिनुभएको छैन । तेस्रोपटक नेपाल पत्रकार महासङ्घ युरोप शाखा अध्यक्ष निर्वाचित हुनु त्यसको गतिलो प्रमाण हो ।

रोजगारीसँगै नेपाली पत्रकारितामा क्रियाशील पत्रकार राई युरो नेपाल डटकम र इयु नेपाल डटकमका सम्पादक हुनुहुन्छ । स्नातकोत्तर अध्ययन गर्दैगर्दा विदेशिनुभएका पत्रकार राईले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ ।