खोटाङ, ३१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १०६ घर स्थानीय उपभोक्तालाई खानेपानी सञ्चित गर्नका लागि हिलटेक प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीका लागि धाराको पानी थापेर सञ्चित गर्दै उपभोग गर्नका लागि वडा कार्यालय नुनथलाले ५०० लिटरको हिलटेक निःशुल्क प्रदान गरेको हो ।
लोचाखोला मुहानको पानी उपभोग गर्ने स्थानीय उपभोक्तालाई प्रतिघर एक÷एकवटा हिलटेक उपलब्ध गराउने वडा कार्यालयको कार्यक्रम अनुसार पहिलो चरणमा यस वर्ष १०६ घर उपभोक्तालाई हिलटेक उपलब्ध गराइएको वडाध्यक्ष भगेश्वर राईले जानकारी दिनुभएको छ । “नुनथलामा लामो समयदेखि खानेपानीको समस्या छ । नुनथलाका २४५ घर उपभोक्ताले वि.सं. २०४१ सालमा सञ्चालित लोचाखोला मुहानको खानेपानी योजनाबाट पानी उपभोग गरिरहेका छन्”, उहाँले भन्नुभयो, “पानीको स्रोत सानो भएकाले हरेक दिन १२ घण्टा जम्मा गरेर तीन घण्टा वितरण गर्ने गरिएको छ । अधिकांशको घरमा उक्त पानी सङ्कलन गरेर राख्ने भाँडो छैन । धारामा आएको समयमा पानी थाप्न नपाउने घर परिवारले उपभोग गर्न नपाउने भएपछि हिलटेक वितरण गरिएको हो ।”
लोचाखोला मुहानको खानेपानी उपभोक्तालाई नेपाल गुणस्तर चिन्ह पप्त प्लाष्टिकको हिलटेक वितरणका लागि वडा कार्यालय नुनथलाले यो वर्ष रु दश लाख रकम विनियोजन गरेको थियो । वडा कार्यालयले विनियोजन गरेको रकमले खरिद गरेर ल्याइएको हिलटेक पहिलो चरणमा हुर्लुङदेखि किरातचोकसम्मका १०६ घर उपभोक्तालाई निःशुल्क वितरण गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।
खानेपानी सङ्कलन गरेर सञ्चित गर्नका लागि हिलटेक पाउने उपभोक्तालाई सोही रकमबाट एक÷एकवटा धारा तथा फिटिङको सामग्रीसमेत उपलब्ध गराइएको जनाइएको छ । लोचाखोला मुहानको पानी उपभोग गर्दै आएका बाँकी १३९ घर उपभोक्तालाई अर्को वर्ष वितरण गरिने वडा कार्यालय नुनथलाले जनाएको छ ।
करिब ४१ वर्षअघि सञ्चालन गरिएको लोचाखोला खानेपानी योजना मर्मतका लागि तत्कालीन १ नं. प्रदेश सरकारले वि.सं. २०७८ सालदेखि क्रमागत योजना अन्तरगत बजेट तथा सामग्री उपलब्ध गराउँदै आएको छ । यद्यपि, उक्त योजनामा कति खर्च भयो भन्ने वडा कार्यालयसँग यकिन विवरण छैन ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने नुनथलाको अधिकांश क्षेत्रमा खानेपानीको समस्या छ । नुनथलाको खानेपानी समस्या समाधानका लागि मुहानको अभाव रहेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।
