Tuesday, April 21

बाक्सिलाले जित्यो ‘पाँचौँ खकलुङ आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को उपाधि

खोटाङ, ६ वैशाख । पाँचौँ संस्करणको ‘खकलुङ आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को उपाधि बाक्सिला फुटबल क्लब बाक्सिलाले जितेको छ । केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित खोक्मा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस क्लब नेर्पालाई ४–३ गोलअन्तरले पराजित गर्दै बाक्सिलाले उपाधि जितेको हो ।

खकलुङ यूनाइटेट क्लब बास्पानीको आयोजनामा सञ्चालित प्रतियोगिताको उपाधि विजेता बाक्सिलाले नगद रु ६० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको नेर्पाले रु ४० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक खकलुङ यूनाइटेट क्लबका अध्यक्ष तीलक साम्पाङले जानकारी दिनुभएको छ ।

यही वैशाख–४ गतेबाट शुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न क्लबमा आवद्ध आठ टिमको सहभागिता रहेको थियो । पाँचौँ संस्करणको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा बाक्सिला फुटबल क्लब बाक्सिलाका यलम्बर राई घोषित हुनुभएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा बाक्सिलाका रोहन परियार र सर्वाधिक गोलकर्तामा नेर्पाका सुरज राई घोषित भएका छन् । विद्यागत पुरस्कार विजेता खेलाडीहरुलाई नगद रु दुई÷दुई हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक जनाएको छ ।

प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई केपिलासगढी गाउँपालिकाका उपप्रमुख गुरुराज राई, निवर्तमान प्रमुख कृष्णकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सौधन राई, बास्पानीका वडाध्यक्ष तुलाराम राई लगायतले पुरस्कार प्रदान गर्नुभएको छ । एन्फा रेफ्रीहरु बिजर राई, बिरेन गुरुङ र राजधन राईले पाँचौँ संस्करणको प्रतियोगिताका खेलहरु सञ्चालन गर्नुभएको हो ।