खोटाङ, २५ वैशाख । दोस्रो सँस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि कात्तिके फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीले जितेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित खोटाङबजार टुँडीखेलमैदानमा आज (बिहीबार) सम्पन्न फाइनल खेलमा मेर्ला फुटबल क्लब ईन्द्रेणीपोखरीलाई ५–० गोल अन्तरले पराजित गर्दै कात्तिके फुटबल क्लब ईन्द्रेणीपोखरीले प्रथम उपाधि जितेको हो ।
प्रथम उपाधि विजेता कात्तिके फुटबल क्लब ईन्द्रणीपोखरीले रु एक लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता मेर्ला फुटबल क्लबले नगद रु ५० हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिम पारुहाङ फुटबल क्लब ईन्द्रेणीपोखरी र कट्टा फुटबल क्लब सावाकटहरेले नगद रु २५÷२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खोटेहाङ खेलकुद विकास समिति खोटहाङ गाउँपालिकाले सञ्चालन गरेको दोस्रो सँस्करणको प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी कात्तिके फुटबल क्लब ईन्द्रेणीपोखरीका सौजन राई घोषित हुनुभएको छ । गाउँपालिकाभित्रका १९ टिम (समूह)को सहभागिता रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएका सौजनलाई नगद रु तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्तामा कात्तिके फुटबल क्लबका शुभराजहाङ राई, उत्कृष्ट गोलरक्षकमा कात्तिके फुटकल क्लबका शुभराज राई, उत्कृष्ट डिफेन्डरमा मेर्ला फुटबल क्लबका महेश राई (खोटेहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत), उत्कृष्ट प्रशिक्षकमा कात्तिके फुटबल क्लबका सजन राई र अनुशासित टिममा पारुहाङ फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपाेखरी घोषित भएका छन् । अनुशासित टिमलाई रु दश हजार तथा विद्यागत पुरस्कार विजेता खेलाडीहरुलाई नगद रु दुई÷दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको वडा नं. ३ सावाकटहरेका वडाध्यक्ष जेफर राईले जानकारी दिनुभएको छ ।
वैशाख–२२ गतेबाट शुरु भएको दोस्रो सँस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ अन्तरगत प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ र उपप्रमुख रुपेश राईले पुरस्कार वितरण गर्नुभएको छ । गत वर्षबाट शुरुवात गरिएको ‘खोटेहाङ फुटबल कप’को प्रथम सँस्करण मेर्ला फुटबल क्लब ईन्द्रेणीपोखरीले जितेको थियो ।
फुटबल खेलको विकास गर्दै गाउँपालिकामै व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको ‘खोटेहाङ फुटबल कप’ अन्तरगतको प्रतियोगितामा सम्बन्धित वडाका खेलाडीले मात्र सहभागी हुन पाउने व्यवस्था मिलाइएको खेलकुद विकास समितिले जनाएको छ । गाउँपालिकाले प्रत्येक वर्ष सञ्चालन हुने ‘खोटेहाङ फुटबल कप’ स्थापना गरेपछि खेलाडीहरुसमेत उत्साहित बनेका छन् ।
