Tuesday, April 21

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङका प्रभात र सहसचिवमा देशकुमार चयन

खोटाङ, २९ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको सचिवमा खोटाङका प्रभात राई र सहसचिवमा देशकुमार राई चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न वाईसिएलको प्रथम सम्मेलनले राईद्धयलाई सचिव र सहसचिवमा सर्वसम्मत् चयन गरेको हो ।

विशेष प्रदेश समिति सचिवमा निर्वाचित प्रभात वाईसिएल नेपाल खोटाङका निवर्तमान सचिव तथा सहसचिवमा निर्वाचित देशकुमार हलेसी तुवाचुङ नगर सम्मेलन समितिका संयोजक हुनुहुन्थ्यो । वाईसिएल नेपाल विशेष प्रदेश समिति काठमाडौँ उपत्यकालाई कार्यक्षेत्र बनाएर सङ्गठनमा सक्रिय रहेका ७७ वटै जिल्लाका कार्यकर्ताहरुलाई समेटेर निर्माण गरिएको जनाइएको छ ।

माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ६१ सदस्यीय समिति चयन गरेको छ । समितिको अध्यक्षमा नवीन थापा, उपाध्यक्षहरुमा रामचन्द्र मैनाली, लमु शेर्पा र प्रविणजङ बस्नेत, सचिवमा प्रभात राई, सहसचिवमा किशोर बुढामगर, अभिनाशकुमार गौरव, देशकुमार राई, होमराज घर्ती र विशाल सेढाई (क्षेत्री) तथा कोषाध्यक्षमा इराजकुमार राउत चयन हुनुभएको जनाइएको छ ।

सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमहासचिव बस्नेतले देशको विकास तथा सुशासन कायम गर्नका लागि युवा पुस्ताले काँध थाप्नुपर्नेमा अवस्था आएको बताउनुभएको छ । सम्मेलनमा वाईसिएल नेपालका पूर्वअध्यक्ष एवम् पार्टी कार्यालय प्रमुख गणेशमान पुन, वाईसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र केन्द्रीय अध्यक्ष सुबोधराज सर्पालीको उपस्थिति रहेको थियो ।