खोटाङ, ४ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङ र अग्रज कवि कुन्ता शर्मा सम्मान गरेको छ । खेलकुद प्रतिष्ठानले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत साहित्यिक महोत्सव कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व जिसस प्रमुख चाम्लिङ र सुनसरीकी कवि शर्मालाई जनही रु ११ हजार १११ नगदसहित सम्मान गरेको हो ।
चाम्लिङलाई पूर्व कार्यक्रम संयोजक हुनुभएकाले र शर्मालाई नेपाली साहित्यिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेबापत सम्मान गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । चाम्लिङलाई सहायक प्रमुख जिल्ला अधिकारी सागर साह र शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गर्नुभएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलस्थित आइतबार खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजित महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिइसरमा ख्यातिप्राप्त कवि तथा कवयत्रीहरुले आ–आफ्नो साहित्यिक रचनाहरु वाचन गर्नुभएको थियो । गत वैशाख–२७ गतेबाट शुरु भएको महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
महोत्सव अन्तरगत गत वैशाख–२७ गते खुला महिला÷पुरुष हाफ म्याराथनसहित विभिन्न दौड प्रतियोगिता आयोजना गरिएको थियो । हाफ म्याराथनको दुवै उपाधि विजेता नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जनही रु ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्नुभएको छ ।
यस्तै, वैशाख–३० गते ३१ गते राष्ट्रिय बुद्धिचाल र टेबलटेनिस प्रतियोगिता आयोजना गरिएको थियो । राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि पूर्वनेपाल च्याम्पियन ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको थियो । उपाधि विजेता नेपालीले नगद रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगिता अन्तरगत सिनियर पुरुषतर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदाल प्रथम, जुनियर महिलातर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरकै साइरा शाक्य र जुनियर पुरुषतर्फ एभिएम टेवलटेनिस क्लब ललितपुरकै जयस्नु महर्जन प्रथम हुनुभएको थियो । खेला राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका उपाधि विजेता गदालले रु २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको थियो ।
महोत्सवमा करिब रु ३९ लाख ५५ हजार ८७ बजेट खर्च भएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । दिक्तेल बजारमा नौँ दिनसम्म सञ्चालन भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु सहभागी भएपछि जिल्लाको माहोल तातिएको थियो ।
