Monday, April 20

अकबरे खुर्सानीको व्यापार : दिक्तेलमा एक केजी अकबरेको मूल्य रु एक हजार

खोटाङ, १८ जेठ । खोटाङ जिल्लामा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएको पाइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न तरकारी पसलहरुमा अहिले अकबरे खुर्सानी प्रतिकेजी रु एक हजारमा धमाधम बिक्री भइरहेको पाइएको हो ।

जिल्लामा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएपनि ग्राहकहरुले खोजिखोजि खरिद गरेर उपभोग गर्ने गरेको व्यापारीहरुले बताएका छन् । दिक्तेल बजारका व्यापारीहरुले गाउँका कृषकले उत्पादन गरेर बिक्री गर्न ल्याएका अकबरे खुर्सानी बाटैमा रोकेर ठेक्दै ग्राहकलाई बिक्री गर्ने गरेका छन् ।

कृषकबाट प्रतिकेजी रु ७०० देखि रु ८०० सम्ममा खरिद गरेको अकबरे खुर्सानी व्यापारीहरुले रु २०० देखि रु ३०० सम्म नाफा राखेर ग्राहकलाई बिक्री गर्ने गरेको पाइएको छ । अकबरे खुर्सानीको मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले प्रतिकेजी रु एक हजारमा खरिद गरेर उपगोग गर्ने गरिएको उपभोक्ताहरुले बताएका छन् ।

अकबरे खुर्सानीको मूल्य महङ्गो भए पनि ग्राहकको मागअनुसार तरकारी पसलहरुबाट खोजिखोजि खरिद गरेर उपलब्ध गराउने गरिएको होटल व्यवसायीहरुले बताएका छन् । बुधबार र शनिबारगरी हप्तामा दुई पटक हटिया लाग्ने दिक्तेल बजारमा तीनवटा सुरक्षा फौज, सरकारी कर्मचारी तथा विद्यार्थीले तरकारी खरिद गर्दै आएका छन् ।

अकबरे खुर्सानीको बेमौसमी खेती गरेर अहिले हप्तामा १४÷१५ केजी बिक्री गर्ने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । “मैले यस वर्ष करिब एक हजार २०० बोट अकबरे खुर्सानीको बिरुवा रापेको छु । अहिले हप्तामा १४÷१५ केजी उत्पादन दिन थालेको छ”, उहाँले भन्नुभयो, “जिल्लामा अकबरे खुर्सानीको माग राम्रो छ । आगामी दिनमा बेमौसमी अकबरे खुर्सानी खेतीलाई थप विस्तार गर्ने योजनामा छु ।”

दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाका स्थानीय कृषकले उत्पादन गरेका खुर्सानीका साथै तरकारी खपत हुने गरेको छ । व्यवसायिक तरकारी खेती गर्ने सीमित कृषकले राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।

जिल्लामा अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारी तथा फलफूलको मूल्यसमेत हालसम्मकै उच्च बनेको उपभोक्ताहरुले बताएका छन् । तरकारी खेती गर्ने कृषकका लागि भनेर नेपाल सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदान नेताका नजिकका व्यक्तिले लिने र खेती नगरी फरफारक गर्नाले जिल्लामा तरकारी तथा फलफूलको मूल्य उच्च भएको समाचार स्रोतको दाबी छ ।

दिक्तेल बजारमा गोलभेडाको मूल्य प्रतिकेजी रु १५०, कन्या च्याउको मूल्य प्रतिकेजी रु ३००, प्याजको मूल्य प्रतिकेजी रु ९०, आलुको मूल्य प्रतिकेजी रु ६०, बन्दकोभीको मूल्य प्रतिकेजी रु ४० तथा फूलकोभीको मूल्य प्रतिकेजी रु १५० रहेको छ । सरकारी अनुदानमा वास्तविक कृषकको पहुँच नपुगेसम्म जिल्लामा तरकारी तथा फलफूलको मूल्य यहीक्रमले वृद्धि हुँदै जाने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताउनुभएको छ ।

जिल्लामा उत्पादित अर्गानिक फलफूल तथा तरकारीको मूल्य वृद्धि भएपछि तराईका विभिन्न जिल्लाबाट आयात गरिएको तरकारी तथा फलफूलले बजार भरिएको छ । तराईबाट सस्तो मूल्यमा खरिद गरेर ल्याइएको विषादियुक्त तरकारी तथा फलफूल बिना परीक्षण खुलेआम बिक्री भइरहँदा सम्बन्धित निकाय भने, मौन छन् ।