खोटाङ, ३० जेठ । दिन ढल्कदै थियो । दिनको करिब साढे दुईतिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको वडा कार्यालयमा वडा परिषद उद्घाटनसत्र चलिरहेको थियो । निर्धारित व्यक्तिको सहभागिता । केही युवा हलभन्दा बाहिर । पटक–पटकको विद्युत अवरुद्ध । सेतो कागज र अक्षरमार्फत योजना माग गर्नेहरुको लर्को ।
वडाध्यक्ष इखबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख वक्ता जिल्ला समन्वय समितिको उपप्रमुख सुरेश तामाङले सुझावहरु राख्नुभयो । जिल्ला समन्वय समिति उपप्रमुखसँग वडा कार्यालय र सरोकारवालाले समन्वय नै नगरेको कारण समन्वयात्मक भूमिकामा आफू रहनुको अर्थै नरहेको सङ्केत गर्नुभएको छ ।
सोही वडा अर्थात् खार्मी निवासी जिससका उपप्रमुखमा निर्वाचित तामाङले सल्लाह, सुझावसहित आवश्यक्ताका आधारमा मागहरु पेश गर्न सुझाउनुभयो । उपप्रमुख तामाङले वडाध्यक्ष राईलाई सेवाग्राही अर्थात् जनतासँग नम्रभाव व्यक्त गरिदिन जोड गर्नुभएको छ । वडावासीले गरेका गुनासाका आधारमा सुझाव दिएको उहाँले जनाउनुभयो ।
सरोकारवालाहरुले विद्यालय मिलान (मर्ज) लगायत’का विषयमा उठान भएका सवालसहितका विषयमा कुरा राख्दै वडाध्यक्ष राईले आफु सत्य बोल्ने र त्यही अनुसार काम गर्दै आएको बोल्नुभयो । “म जे छ त्यही बोल्छु, मन नपरे मलाई भोट नदिनोस् !” अध्यक्ष राईले कोहीसँग पूर्वाग्रही भएर काम गर्नपर्ने निकृष्ट अवस्था नरहेको दोहो¥याउनुभयो । भएको कुरा गर्दा र सल्लाह दिँदा आफु नरिसाउने र आफुलाई लागेको कुरा प्रष्ट राख्ने उहाँको जोड थियो ।
छोटो समयमा परिषद सम्पन्न गर्नुपर्ने अवस्था आएकाले प्रतिनिधिमूलक मात्र सहभागिता गराईको वडा सचिव होमनाथ खनालले स्विकार्नुभयो । आगामी वर्षमा परिषद् जनताका लागि सन्तोषयोग्य बनाउन पहल गर्ने वडा सदस्य बिरेन्द्र राईले उद्घोष गर्नुभएको छ ।
कूल रु ४८ लाख बजेटमध्ये पुँजीगत प्रकृतिको र कार्य सञ्चालनका लागि चालु आर्थिक वर्षका लागि रु आठ/आठ लाख बजेट विनियोजन भएको वडा सचिब होमनाथ खानालले बताउनुभएको छ । अघिल्लो वर्षकै तुलनमा यो बजेट आएको सचिब खनालको भनाइ छ । वडाले गर्ने उत्पादन तथा राज्यलाई बुझाएका कर, जनसङ्ख्या आदिका आधारमा बजेट निर्धाराण हुने उहाँले स्पष्ट पार्नुभएको छ ।
