–रामधन राई
खोटाङ, १ असार । रुकुम पश्चिम दाङका शिक्षक लालबहादुर ओलीले खोटाङमा सात वर्षअघिदेखि अध्यापन गर्दै आउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माध्यमिक विद्यालमा शिक्षण गरिरहनुभएको ओलीले आफ्नो १४ वर्षीय छोरा उज्वललाई पनि साथैमा ल्याएर पढाउँदै हुनुहुन्छ । अधिकांश शिक्षकहरु आफू सामुदायिक विद्यालयमा पढाएर आफ्ना नानीहरुलाई निजी अर्थात सुविधा सम्पन्न विद्यालयहरुमा अध्ययन गराइरहेको अवस्थामा ओलीले भने, आफ्नै विद्यालयमा छोरालाई पढाउन ल्याउनुभएको हो ।
आफैले प्रदान गर्ने शिक्षामा विश्वास नहुने शिक्षकहरुले प्रायः बच्चाको लागि अन्य विद्यालय रोज्ने गरेको विज्ञान विषय शिक्षक ओलीको ठहर छ । दाङस्थित विद्यालयमा अङ्ग्रेजी भाषाका माध्यमबाट गुणस्तरीय पठनपाठन भईरहे पनि आफैले शिक्षण गर्ने सामुदायिक विद्यालयमा छोरालाई ल्याएको ओलीको भनाइ छ ।
“सबै शिक्षकले आफ्ना बच्चाहरु आफैले पढाउने विद्यालयमा भर्ना गराउने हो भने शैक्षिक गुणस्तर स्वतः सुधार हुन्छ जस्तो लाग्छ ।” ओलीले भन्नुभयो– “बच्चाको रेखदेख हुनका साथै कुलतबाट समेत बचाउन सकिन्छ ।”
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–१४ नुवाकोट स्थायी ठेगाना भएका शिक्षक ओलीले दाङको तुल्सीपुर उपमहानगरपालिका–४ तुल्सीपुरको नमूना विद्यालय गुरु जजुर माविबाट छोरालाई खोटाङ ल्याएर पढाइरहनुभएको हो । विज्ञान संकायबाट १२ कक्षासम्म सञ्चालन हुने दाङका उक्त विद्यालयले अघिल्लो शैक्षिक सत्रमा सञ्चालन भएको एसइई परीक्षामा नेपालको उत्कृष्ट नतिजा ल्याउन सफल बनेको थियो ।
तीन वर्ष अघिदेखि खार्मीमा शिक्षण गरिरहनुभएको ओलीले दुई वर्षअघि छोरालाई आफैसँग ल्याउनुभएको हो । ओलीको छोरा कक्षा–९ मा प्रथम स्थान लिएर हाल १० कक्षामा अध्ययनरत छन् । केपिलासगढीस्थित एक माविमा चार वर्ष अध्ययापन गरेर खार्मी आउनुभएका ओली मावि राहत दरबन्दीका शिक्षक हुनुहुन्छ ।
सोही माविकै अर्का शिक्षक जयराज राईले पनि सदरमुकाम दिक्तेलस्थित एक निजी विद्यालयमा अध्ययन गराइरहेको बच्चालाई निकालेर आफ्नै विद्यालयमा पढाउँदै हुनुहुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका ठेगानाका शिक्षक राईले बोर्डिङ स्कूलमा ६ कक्षामा अध्ययन गरिरहेको छोरा दिक्षान्तलाई ६ कक्षामा नै भर्ना गरिदिनुभएको हो ।
दुई वर्षदेखि डेरा लिएर खार्मीमा बसी शिक्षण गरिरहनुभएको राईको छोरा दिक्षान्त हाल ७ कक्षामा अध्ययनरत छन् । सामुदायिक विद्यालयको शिक्षक आफू बफादार तथा आफू र आफ्नो शिक्षणप्रति विश्वास हुनुपर्ने शिक्षक राईको धारणा छ ।
सामुदायिक विद्यालयका शिक्षकहरु आफैमा विश्वास नभएर छोराछोरीलाई भने निजीमा पढाउँछन् भन्ने खालका जनगुनासा तोड्न खोजेको उहाँले सुनाउनुभयो । “आफ्नो छोराछोरी प्राईभेटमा पढाउँछन्, आफू पढाउने विद्यालयमा जे गर्दा नि हुन्छ भन्ने जनगुनासो र मानसिकतालाई एक हिसाबले तोड्न खोेजेको हुँ ।” –उहाँले भन्नुभयो ।
कालिका माविका सबै शिक्षकहरुले अपवाद बाहेक आफ्ना बच्चा आफैसँग राखेर पढाइरहेको निमित्त प्रधानाध्यापक दिपेन्द्र दाहालले बताउनुभयो । सामुदायिक विद्यालयका शिक्षकहरुले अभियानकै रुपमा आफ्नो बच्चा आफैले पढाउने विद्यालयमा स्वफूर्त भर्ना गराउन थालिएको छ ।
विद्यालयका शैक्षिक गुणस्तर बृद्धिका लागि यस्तो कार्य आवश्यक रहेको निमित्त प्रअ दाहालको बुझाइ छ । शिक्षक दाहालले पनि दिक्तेलबजारस्थित निजी स्कूलमा अध्ययन गराइरहनुभएकीे छोरी दिप्सनालाई बोर्डिङबाट निकालेर खार्मीमा नै भर्ना गरिदिनुभएको छ । दिप्सना हाल तीन कक्षामा अध्ययनरत छिन् ।
कक्षा १२ सम्म पठनपाठन हुने कालिका मावि खार्मीमा हाल करिब ३०० को हाराहारीमा विद्यार्थी सङ्ख्या रहेको छ । उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्डअन्तरगतको अघिल्लो शैक्षिक सत्रमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल बनेका थिए ।
तीन वर्षअघिदेखि ११ कक्षा सञ्चालन गरिएकोमा पहिलो चरणका विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको शिक्षक धनचन्द्र राईले बताउनुभयो । शिक्षक राईकाअनुसार अधिकांश विवाहित तथा गृहिणी विद्यार्थी रहेको उक्त कक्षाको पहिलो वर्ष २० जनाको हाराहारीमा विद्यार्थी भर्ना भएका थिए ।
वि.सं. २००९ सालमा स्थापना भएको कालिका मावि खार्मीमा कक्षा–११ र १२ चन्दा सङ्कलन तथा शुभेच्छुकको सहयोगमा सञ्चालन हुँदै आएको छ । कालिका मावि खार्मीमा जस्तै जिल्लाका अन्य सामुदायिक विद्यालयका शिक्षकहरुले पनि आफ्ना बच्चाहरु आफैले पढाउने विद्यालयमा पठनपाठन गराउने अभियान शुरु गरेका छन् ।
