Wednesday, April 22

विदेशबाट फर्कने खार्मीका युवा रोपाइँमा रमाउँदै

–रामधन राई
खोटाङ, १४ असार । दुई वर्ष मलेसियामा काम गरेर फर्कनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २१ वर्षीय दिलिप राई यतिखेर एक हल गोरुको साथ छोड्नुभएको छैन । साथमा गाउँका युवा साथीहरु बाउसे र रोपाहार । दिलिप भन्नुहुन्छ, “यहीँ गज्जब छ ।”

दिलिप जस्तै युवाहरु धान रोपाइँमा रमाइरहेका छन् विदेशबाट फर्किएका खार्मीका धेरै युवा । न थकान न बाध्यता । दिलिपकै जेठो दाजु २५ वर्षीय विकास पनि ब्रुनाईबाट भर्खैर घर फर्किएर रोपाइँमै रमाइरहनुभएको छ ।

अनि अघिल्लो पुस्ताका दीर्घ राई आधी उमेर विदेशमा बिताएर गाउँमा खुब रमाइरहनुभएको छ । अहिले रोपाइँमा उहाँको माग भ्याइ–नभ्याइ छ । विदेशको भोगाइ सुनाउँदै काम गर्ने शैलि उहाँको चकिलो मान्छन् ।

रसिलो स्वभाव र व्यवहारका राई जस्तै बालाशेर राई, हर्कराज राई, बोलकुमार राई ‘बिन्दे’, महेश राई ‘मन्त्री’, दीर्घकुमार राई ‘काजी’, पवन राई लगायत यसरी नै रमाइहनुभएको छ । चाईनाको एक प्रतिष्ठित शिक्षालयबाट शिक्षित खार्मीस्थित कालिका खार्मीका शिक्षक धनचन्द्र राईकाअनुसार युवा गाउँकेन्द्रित बन्दै गएका छन् ।

रोजगारीको सिलसिलामा विदेश रोज्नुपर्ने बाध्यताका युवा गाउँमा विकल्प खोख्न थालेका शिक्षक धनचन्द्रको बुझाइ छ । कृषिलाई बाध्यताका रुपमा लिने त्यहाँका युवा अहिले रहर र जिम्मेवारीका रुपमा लिन थालेका छन् ।

बाँझिएका खेतीयोग्य खेतहरुमा युवाको लर्को लाग्न थालेको देखिएका छन् । मुरीका मुरी धान उब्जनी हुने खेतहरु बाँझिएका भेटिएपछि मनै उराठ भएकाले यसो गर्नुपरेको हेमन्त राई बताउनुहुन्छ ।

ब्रुनाईमा काम गर्न असहज मान्दै एक वर्ष नै टिक्न नसकेर फर्किएका अर्का युवा सन्जोक राईले हो मा हो थप्नुभयो । २४–२५ वर्षे छोराहरुलाई काम गर्न बाध्य नपारे पनि आफै काम गर्न थालेकामा बुबाआमा खुशी छन् ।

सानै उमेरमा पढाइ छाडेर लहै–लहैमा वैदेशिक रोजगारीमा जाने युवाले भूमिको मोह बुझ्न थालेको गाउँलेहरु ठहर गर्छन् । त्यसो त खार्मीका युवाले वैदेशिक रोजगारीमा नजाने निधो गर्दै सामुहिक कृषि तथा पशुजन्य व्यवसाय पनि सञ्चालन गरेका थिए ।

नाफा–घाटा बराबरी भएपछि खेर गएका जमिनहरुमा नजर गएको युवाको भनाइ छ । जिल्लाबाट वर्षेनी नौँ हजारको हाराहारीमा श्रमकै लागि खाँडी तथा वैदेशिक रोजगारीमा जाने गरेको तथ्याङ्क रहेको वैदेशिक रोजगारीबाट फर्कनेहरुको लागि पुनः एकीकरण(रेमी)का खोटाङ संयोजक ओजोनबाबु आचार्य जानकारी दिनुभएको छ ।

रोपाइँका लागि यस वर्ष अनुकल वर्षा भएका कारण रोपाइँ सहज भएको परम्परागत कृषकहरु सुनाउँछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जस्तै अन्य स्थानीय तहहरुमा समेत धान रोपाइँ धमाधम भइरहेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म करिब ५० प्रतिशत रोपाईँ सकिएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश हजार १८ दशमलब ४० हेक्टरमा धान खेती गरिन्छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा तीन हजार ५००, हलेसी तुवाचुङ नगरपालिकामा १२०, जन्तेढुङ्गा गाउँपालिकामा २४० दशमलव ९६ हेक्टरमा धान रोपन्छि । यस्तै, बाराहापोखरी गाउँपालिकामा ६५७, खोटेहाङ गाउँपालिकामा एक हजार २००, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एक हजार २००, साकेला गाउँपालिकामा ८०० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ । जिल्लाको रावाबँेसी गाउँपालिकामा ८५०, केपिलासगढी गाउँपालिकामा ८५० र ऐसेलुखर्क गाउँपालिकामा एक हजार दशमलव १३ हेक्टर गरी जिल्लाभर दश हजार १८ दशमल ४० हेक्टरमा धान खेती गरिन्छ ।