Tuesday, April 21

खोटाङमा ५६ दशमलव ८९ प्रतिशत खेतमा धान रोपाइँ सकियो

खोटाङ, २३ असार । दश हजार १८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने खोटाङमा हालसम्म ५६ दशमलव ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार असार–२२ गतेसम्ममा जिल्लाका दशवटै स्थानीय तहमा गरी पाँच हजार ७८ हेक्टर खेतमा धान रोपाइँ सम्पन्न भएको हो ।

जिल्लामा सबैभन्दा बढी केपिलासगढी गाउँपालिकामा ८५ प्रतिशत तथा सबैभन्दा कम रावाबेँसी गाउँपालिकामा २५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र खोटाङका सहायक बागवाणी विकास अधिकारी रवीन राईले जानकारी दिनुभएको छ । राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६५, हलेसी तुवाचुङ नगरपालिकामा ७०, जन्तेढुङ्गा गाउँपालिकामा ५०, बराहपोखरी गाउँपालिकामा ६०, खोटेहाङ गाउँपालिकामा ४५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६५, साकेला गाउँपलिकामा ६५ र ऐसेलुखर्क गाउँपालिकामा ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

गत वर्षहरुको तुलनामा यस वर्ष जिल्लामा छिटो वर्षा भएकाले छिटै रोपाइँ सुरु गरिएको कृषकहरुले बताएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका कृषकले आगामी भदौको पहिलो हप्तासम्म धान रोपाइँ गर्ने गरेका छन् ।

जिल्लाका अधिकांश भू–भागमा बसोवास गर्ने कृषकले वर्षे पानीको भरमा धान रोपाइँ गर्ने गरेको र यस वर्ष समयमै प्रयाप्त वर्षा भएका कारण रोपाइँ छिटो भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले जानकारी दिनुभएको छ । “बिगत वर्षहरुमा भन्दा यो वर्ष धान रोपाइँ छिटो भएको छ । छिटो रोपाइँ भएकाले उत्पादनसमेत वृद्धि हुने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “बिगत वर्षहरुभन्दा यस वर्ष समयमै वर्षा भएकाले अहिलेसम्म सबै खेतीबाली राम्रो देखिएको छ । समग्रमा सबै कृषि उपजको उत्पादन वृद्धि हुने देखिएको छ ।”

जिल्लामा बास्मती, अट्टेमार्सी, चम्पासरी, भोटाङ्गे, तौली, ताइचिन, मनकामना, मन्सुली, राधा, मकनापुर–१, हिमाली लगायत विभिन्न प्रजातिका धान खेती हुँदै आएको छ । जिल्लामा उत्पादित धानमध्ये सबैभन्दा बढी बास्मती र भोटाङ्गे उपभोक्ताको रोजाइमा पर्ने गरेको कृषकहरुले बताउने गरेका छन् ।

जिल्लामा उत्पादित धानको चामल स्थानीय हाटबजार तथा राजधानी काठमाडौँ लगायत विभिन्न शहरमा निर्यात हुने गरेको कृषकहरुले बताएका छन् । जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले पनि कृषकले उत्पादन गरेक हरेक कृषि उपज राजधानी काठमाडौँ लगायतका शहरमा निर्यात गर्न सहज भएको छ ।

जिल्लामा उत्पादित हरेक कृषि उपज अर्गानिक हुने भएकाले शहर बजारमा सहजै बिक्री गर्न सकिने व्यवसायीहरुले बताएका छन् । जिल्लामा उत्पादित कृषि उपजलाई अर्गानिक बनाउन स्थानीय तहहरुले समेत पहल थालेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धनका लागि नगरसभाबाट बजेट नै विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकाले गहत, बदाम र जुनेलो खेती प्रवद्र्धनका लागि गत वर्षदेखि कृषकलाई अनुदान दिँदै आएको छ ।