खोटाङ, २९ असार । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ मा उपलव्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो ।
गाउँपालिकाले वडा नं.–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो जमिन फोरेर गत फागुनमा आलु खेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार–१२ गतेदेखि असार–२७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिनुभएको छ ।
बाँझो जमिन उपयोग गरेर उत्पादन गरिएको आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञचालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा भण्डारण गरेर राखिएको आलु उपभोक्तालाई बिक्री गर्नका लागि गाउँपालिकाले असार–१८ गतेदेखि सुपथ मूल्यको पसल खुला गरेको छ ।
स्थानीय राजस्व परामर्श समितिको यही असार–१६ गते बसेको बैठकले आलुको मुल्य प्रतिकेजी रु ५५ निर्धारण गरेर कोसेली घरबाटै तोकिएको मूल्यमा शुरु गरिएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभएको छ । “भण्डारण गरिएको आलु कृषि शाखाबाट कुपन लिएर आउने ग्राहकलाई कुपनको आधारमा बिक्री गर्ने व्यवस्था मिलाइएको छ । हालसम्म एक हजार १०६ केजी आलु बिक्री भइसक्यो” उहाँले भन्नुभयो, “आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाको आन्तरिक श्रोतमा जम्मा गर्ने योजना बनाएका छौँ । बाँझो जमिन उपयोग गरेर शुरु गरिएको आलु खेती प्रवद्र्धन कार्यक्रमले उत्पादनमा जोड दिनुपर्छ भन्ने सिकाइ भएको छ ।”
आलु खेती प्रवद्र्धन अन्तरगत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उपलव्ध गराएको रु १५ लाख बजेटमध्ये रु आठ लाखमा ११ टन आलुको बीउ खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ । किसानको मागको आधारमा गाउँपालिकाले निःशुल्क आलुको बीउ वितरण गरेपछि बाँकी रहेको रु सात लाख बजेटका साथै जनप्रतिनिधि, कर्मचारी र स्थानीयले श्रमदान गरेर बाँझो जमिन रहेको भञ्ज्याङखर्कमा आलु खेती लगाएको हो ।
वर्षौँदेखि बाँझिएर उपयोगविहीन भएको सार्वजनिक जग्गा फोरेर आलु खेती लगाउनका लागि गाउँपालिकाको दुईवटा मिनिटिलर प्रयोग गरिएको थियो । यस्तै, बाँझो जमिन खन्न, आलुको बीउ रोप्न र फलेको आलु निकाल्नका लागि खन्न प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई परिचालन गरिएको थियो ।
गाउँपालिकाले सञ्चालन गरेको आलु खेतीमा रु तीन लाख बराबरको श्रमदान जुटाइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ । “भज्याङखर्कमा खुमल सेतो प्रजातीको ती टन र स्थानीय जातको आलु रोपिएको थियो । आलुसँगै मकै खेती पनि लगाइएको छ”, उहाँले भन्नुभयो, “उत्पादित आलुलाई ग्रेडिङ गर्दै साना–साना दानालाई भने बीउको रुपमा राख्छौँ । आलुको बीउलाई चिसापानीमै निर्माण गरिएको आगामी साउनदेखि सञ्चालनमा आउने चिस्यान केन्द्रमा भण्डार गर्ने तयारी गरिएको छ ।”
छिमेकी जिल्ला भोजपुरको सिमानामा रहेको ठूल्ठूला घाँसे मैदान रहेको भञ्ज्याङखर्कमा आगामी आर्थिक वर्ष पनि आलु खेती लगाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । आलु खेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर १७ औँ गाउँसभाबाट आर्थिक वर्ष २०८२÷८३ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका स्थानीय नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै व्यवसायिक कृषि प्रणालीमा लैजान उत्पादनमा जोड दिने किसिमको नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिनुभएको छ ।
