खोटाङ, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङले दुई महिने श्रमदान अभियान शुरु गरेको छ । वाईसिएल नेपाल केन्द्रीय कार्यसमितिको निर्णयअनुसार ७७ वटै जिल्लामा बिहीबारदेखि औपचारिक रुपमा श्रमदान अभियान शुरु गरिएको हो ।
युवा पुस्तालाई श्रमसँग जोडेर उत्पादनलाई जोड दिँदै स्वरोजगार बनाउने उद्देश्यसहित शुरुवात गरिएको श्रमदान अभियानको पहिलो दिन दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा वृक्षरोपण, फूलका बिरुवा वितरण तथा सरसफाइ गरिएको वाईसिएल खोटाङका अध्यक्ष भूपेन्द्र किरातीले जानकारी दिनुभएको छ । क्याम्पस परिसरमा आयोजना ‘श्रम तथा उत्पादनमा वाईसिएल’ नारासहित शुरुवात गरिएको दुई महिने श्रमदा अभियानको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएको छ ।

अभियानमा मातृ पार्टी माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, वाईसिएल नेपालका केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरु, विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)का नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । दुई महिनासम्म सञ्चालन हुने अभियानका क्रममा हलेसीको गणेशटारमा वृक्षरोपण, बुइपामा सामुहिक फापर तथा बेसार खेती लगायतका कार्यक्रम तय गरिएको अध्यक्ष किरातीले जानकारी दिनुभएको छ ।
वाईसिएल नेपालको गत असार–१७ र १८ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले साउन÷भदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो । उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बनाएर अभियान शुरु गरिएको वाईसिएल नेपालले जनाएको छ ।

केन्द्रीय समितिले आयोजना गरेको अभियानको औपचारिक उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको छ भने, जिल्ला तथा पालिकास्तरीय समितिले आयोजना गरेको अभियान सम्बन्धित क्षेत्रका नेताहरुले गरेका छन् । वैदेशिक रोजगारी तथा विभिन्न कामको सिलसिलामा विदेशिनेक्रम बढिरहेको वर्तमान अवस्थामा वाईसिएल नेपालले देशभर एकैसाथ शुरुवात गरेको ‘श्रम तथा उत्पादनमा वाईसिएल’ भन्ने नारासहितको श्रमदान अभियानले युवा पुस्तालाई आफ्नै देशमा सिर्जनशील काम पे्ररित गर्ने नेताहरुले बताएका छन् ।

