खोटाङ, १९ साउन । हलेसी तुवाचुङ नगरपालिका– बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माईक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ । त्रिधार्मिकस्थल हलेसीमा दर्शन गरेर सिरहाको गोलबजारतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माईक्रोबस अनियन्त्रित भइ सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु तथा १७ जना घाइते भएका हुन् ।
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा लागेको महिना दिने ‘बोलबम’ मेला भरेर घर फर्कनेक्रममा माईक्रोबस दुर्घटनामापरी मृत्यु हुनेमा सिरहा जिल्लाको नराह गाउँपालिका–५ नरहा बलकावा निवासी २८ वर्षीया ममतादेवी यादव रहनुभएको छ । दुर्घटनाग्रस्त माईक्रोबसभित्रै च्यापिएर अचेत अवस्थामा उद्धार गरिएको ममतादेवीलाई कटारीस्थित अस्पतालले मृत घोषणा गरेको हो ।
घाइते हुनेमा सोही स्थानका ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुमारी यादव, ४० वर्षीया मिथिलाकुमारी यादव, ३० वर्षीयाा पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, झालुदेवी यादव र सोही गाउँपालिकाको वडा नं. २ चन्द्र अयोध्यापुरका ५७ वर्षीय धनेश्वर यादव तथा धनुषा जिल्ला सबेला नगरपालिका–४ पटेर्वा निवासी ७९ वर्षीय दुर्योधन यादव रहनुभएको छ । उनीहरु सबैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
गम्भीर अवस्थामा रहेका उनीहरुको टोउको, हात तथा खुट्टा लगायत शरीरको विभिन्न भागमा गहिरो चोट देखिएको छ । काठमाडौँ रिफर गरिएकामध्ये चारजनाको अवस्था गम्भीर रहेको उद्धार कार्यमा खटिनुभएका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ ।
दुर्घटनामा सामान्य घाइते हुनेमा सिरहा जिल्लाको नराह गाउँपालिका–५ नरहा बलकावाका ३९ वर्षीय रञ्जित यादव, सिराह जिल्लाको गोलबजार नगरपालिका–६ गोलबजारका ३७ वर्षीया शिला शर्मा, सिराहकै औरही गाउँपालिका–२ मिना कुमारी शर्मा, नरहा गाउँपालिका–५ का दिपेन्द्र यादव, दश वर्षीय शिवम् शर्मा र ७० वर्षीय कुस्मवती यादव रहनुभएको छ । उनीहरुको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा प्राथमिक उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक सिरहाको सिरहा नगरपालिका–३ सारसोर बस्ने २८ वर्षीय रामनाथ साह फरार रहेको घटनास्थलमा खटिनुभएका इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभएको छ । फरार चालकको खोजिका लागि प्रहरी परिचालन गरिएको जनाइएको छ ।
साँघुरो सडकमा सोमबार बिहान करिब नौ बजेतिर तीब्र गति गुडिरहेको माईक्रोबस अनियन्त्रित भएर सडकमुनि खसेको अनुमान गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट जयरामघाट, प्रहरी चौकी च्यास्मिटार, इलाका प्रहरी कार्यालय हलेसी, सशस्त्र प्रहरी बल नम्बर ७ गुल्म हलेसी र ओखलढुङ्गाको हर्कपुरबाट खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेको हो ।
