खोटाङ, ३१ साउन । संस्कृतिकर्मी पर्खनबहादुर राईद्धारा लिखित ‘तुङसाप रोदुङ वुलिमचिनिमा मुन्दुम’ नामक साँस्कृतिक पुस्तक विमोचन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा निवासी ८८ वर्षीय राईले लेख्नुभएको पुस्तक साउन–३१ गते विमोचन गरिएको हो ।
किरात सेवा समाज खोटाङको पाँचौँ साधारणसभाको अवसरमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पुस्तक विचोमन गर्नुभएको छ । पुस्तकमा मुन्दुममा उल्लेख भएअनुसार किरात राईको जन्मदेखि जीवन निर्वाह, भाषा, धर्म, संस्कार, संस्कृति, कला कौशल र मृत्युसम्मको विषयलाई चित्रण गरिएको छ ।
भारतीय सेनाका पूर्वसुवेदार राईले नेपाली र चाम्लिङ भाषामा लेख्नुभएको पुस्तक ११० पृष्ठको छ । वि.सं. १९९६ पुस–१७ गते जन्मनुभएका राईले वि.सं. २०६१ सालमा किरात चाम्लिङ बडाछा (माथा) परिवार वंशावली, वि.सं. २०६५ सालमा किरात इतिहास र संस्कृति, वि.सं. २०७८ सालमा किरात संस्कृति चिन्डो र वि.सं. २०८१ सालमा मौलिक किरात जीवन जन्मबोली प्रकाशन गर्नुभएको थियो ।
भारतीय सेनामा २८ वर्ष सेवा गरेर सुवेदार पदमा पेन्सन निस्कनुभएका राई जिल्ला फर्किएर सामाजिक सङ्घसंस्था सम्हाल्नुका साथै संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धनमा बाँकी जीवन बिताइरहनुभएको छ । सन् १९६३ मा भारतीय सेनामा भर्ती हुनुभएका राई सन् १९९१ मा पेन्सनमा निस्कनुभएको हो ।
पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख राईले पर्खनबहादुर राई किरात राई समुदायको प्रेरणाको श्रोत भएको बताउनुभएको छ । “पर्खनबहादुर राई ८८ वर्षको उमेरसम्म स्वस्थ एवम् सकृय जीवन र बौद्धिक अभ्यासमा सरिक हुनुहुन्छ । उहाँ हामी सबैको प्रेरणाको श्रोत हुनुहुन्छ । समाजसेवी, राजनीतिज्ञ, मुन्दुमी सहजकर्ता पर्खनबहादुर राईलाई हामी सबैले बधाई दिनुपर्छ”, उहाँले भन्नुभयो, “समाजमा जन्मिएका थोरै मानिसमध्येमा पर्खनहादुर पर्नुहुन्छ । उहाँको स्वास्थ्य एवम् दीर्घायुको कामना छ ।”
जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा किरात सेवा समाजका अध्यक्ष ध्यानबहादुर राईले संस्थाको भावी रणनीति तथा योजना प्रस्तुत गर्नुभएको छ । यस्तै, महासचिव बालचन्द्र राईले साङ्गाठानिक प्रतिवेदन र कोषाध्यक्ष ममता राईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।
