खोटाङ, १० भदौ । जिल्ला प्रशासन कार्यालय खोटाङमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान दश बजेदेखि लाइनमा राखेर टोकन सिस्टममार्फत फारम भराउने गरिएको छ । तर, एउट स्टेशन अनि एकजनामात्रै कर्मचारी हुँदा पालैपालो फारम भर्ने प्रणालीले राति अबेरसम्म पर्खेर बस्दा पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् ।
वर्षाद्को समय भएकाले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका वृद्धावृद्धालाई राष्ट्रिय परिचयपत्र भर्न गाउँबाट जिल्ला प्रशासनसम्म आइपुग्न समस्या हुने गरेको छ । प्रशासन आइसकेपछि तत्काल सेवा लिन नपाउँदा कोही प्रशासनको भुइँतला, कोही फलैचाँ त कोही जिल्ला समन्वय समिति खोटाङको पार्किङस्थलमा बसिरकेका भेटिन्छन् ।
आफन्त वा परिवारका अन्य सदस्यको साथ लिएर दैनिक १०० जनाभन्दा बढी जिल्ला प्रशासन आउने गरेका छन् । गाडी रिजर्भ गरेर आएका अधिकांश सेवाग्राहीले यस्तै सास्ती खेप्दै आएका छन् । पछिल्लो समय सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीको विवरण नवीकरण गर्न अनिवार्य वायोमेट्रिक्स गर्नुपर्ने नियम सरकारले लागू गरेपछि सबैभन्दा बढी उनीहरुलाई सास्ती भएको छ ।
प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि आफ्नो पालो कुरेर बस्नका लागि प्रशासनले प्यासेज (आवतजात गर्ने ठाउँ)मा म्याट बिच्छ्याइदिएको छ । म्याटमा बसेर पालो कुरिरहेका उनीहरु अधिकांशको एउटै गुनासो सुनिन्छ, “बल्ल–बल्ल जिल्ला आइपुगियो । फेरि यसरी लाइन कुरेर कतिबेरसम्म बस्नु ? राज्यले उपलब्ध गराउने सुविधा लिन पनि यत्रौ हैरानी खेप्नुपर्ने ? यस विषयमा सम्बनिधत निकायको ध्यान जाओस् ।”
कहिले स्टेशनमा जडान गरिएको सर्भरले काम नगर्ने त कहिले धेरै भीड भएर पालो कुर्नुपर्ने समस्याले सेवाग्राही हैरानीमा परेका छन् । अहिले सामाजिक सुरक्षाभत्ता लिइरहेका सेवाग्राहीलाई खाता खोल्न बैङ्कहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि फारम भर्न आउने लाभग्राहीको सङ्ख्या बढेको पाइएको छ ।
राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनमा स्टेशन र जनशक्ति अभाव हुँदा सेवाग्राहीको फारम भर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय खोटाङमा सञ्चालित राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनका प्रमुख फनिन्द्र राईले बताउनुभयो । “दैनिक सय जनाभन्दा बढी सेवाग्राही आउने गरेका छन् । पालैपालो सेवा दिँदै जाँदा वृद्धवृद्धा र अपाङ्गता भएका सेवाग्राहीले दुःख पाइरहेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्रको फारम भर्दा वायोमेट्रिक्स गर्न दश औँलाको प्रिन्ट, आँखाको रेटिनाको फोटोलगायतको डाटा समावेश गर्नुपर्ने हुन्छ । जनशक्ति पनि अभाव छ । एकजना व्यक्तिको विवरण भर्न कम्तिमा पनि १५ मिनेट लाग्छ । सर्भरले पनि राम्रो काम गर्दैन । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाँचवटा वडाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीको बैङ्क परिवर्तन गर्नुपर्ने भएकाले थप समस्या सिर्जना भएको सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाईका फिल्ड सहायक गम्भीर खत्रीले बताउनुभयो । बैङ्क परिवर्तन र वडामा घुम्ती टोलीमार्फत फारम भरिएका अधिकांश लाभग्राहीको राष्ट्रिय परिचयपत्र सिस्टममा एप्रोभ नभएकाले समस्या सिर्जना भएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय खोटाङबजारबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने गरिएको छ । इलाका प्रशासन कार्यालय खोटाङबजारले जन्तेढुङ्गा, खोटेहाङ र बराहापोखरी गाउँपालिकाका नागरिकहरूको राष्ट्रिय परिचयपत्रको फारम भर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय दिक्तेलमा भने बाँकी दुई नगरपालिका (दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका) तथा पाँच गाउँपालिकाको एकै स्टेशनबाट सेवा प्रवाह गर्दा सेवाग्राही मारमा परेका छन् । सेवा लिन आउनेको सङ्ख्या बढेपछि पालो नपाएका सेवाग्राहीहरु तीन दिनसम्म होटलमा बस्न बाध्य बनेका छन् ।
राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जिल्ला प्रशासन खोटाङ आएका सेवाग्राहीलाई राति अबेरसम्म खटिएर भएपनि सेवा उपलब्ध गराउने गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ । “अहिले सामाजिक सुरक्षाभत्ता लिने लाभाग्राही बढी भएकाले प्रशासनमा चाप बढेको छ । सेवाग्राहीको चाप बढेपछि स्टेशन थप गर्ने विषयमा विभागसँग समन्वय गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अशक्त र अपाङ्गता भएका सेवाग्राहीलाई स्थानीय तहसँग समन्वय गरेर उपयुक्त ठाउँ पहिचान गरेर अस्थायी दर्ता केन्द्र सञ्चालन गर्ने योजना बनाएका छौँ । अबको केही दिनभित्रै गाउँगाउँमा टोली परिचालन गरेर सेवाग्राहीलाई उनीहरुकै गाउँमा सेवा उपलब्ध गराउँछौँ ।”
सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि वायोमेटिक भेरिफिकेशनमा समेत राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य राख्नुपर्ने व्यवस्था लागू गरिएपछि लाभग्राहीहरु थप समस्यामा परेका छन् । वि.सं. २०७७ साउन–१ गतेबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम सुरु गरिएको जिल्लामा एक लाख २२ हजार २७५ जना नागरिकले राष्ट्रिय परिचयपत्रको फारम भरिसकेको तथ्याङ्कमा उल्लेख छ ।
