–रामधन राई
खोटाङ, ११ भदौ । जिल्ला प्रशासन कार्यालय खोटाङबाट जारी गरिएको राष्ट्रिय परिचयपत्र अधिकांश दर्ताविहीन पाइएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सामाजिक सुरक्षा भत्ता लाभग्राहीको राष्ट्रिय परिचयपत्र अधिकांश दर्ताविहीन पाइएको हो ।
लाभग्राहीको सहजताका लागि वडा कार्यालय खार्मीमा सञ्चालन गरिएको सामाजिक सुरक्षाभत्ता नवीकरण शिविरमा राष्ट्रिय परिचयपत्र साथैमा लिएर गएका लाभग्राहीको राष्ट्रिय परिचयपत्र ‘सिस्टम’मा दर्ता नभेटिएको वडा सचिव होमनाथ खनालले बताउनुभयो । भदौ–६ र ७ गते वडाले सञ्चालन गरेको सिफारिस तथा नवीकरण कार्यमा २०७७ सालमा बनाइएको राष्ट्रिय परिचयपत्रको दर्ता नपाइएको हो ।
करिब १०० जना लाभग्राहीको राष्ट्रिय परिचयपत्रको रेकर्ड नपाइएको सचिव खनालको भनाइ छ । जिल्ला प्रशासन कार्यालय खोटाङको टोलीले वडामै शिविर सञ्चालन गरी बनाइदिएको राष्ट्रिय परिचयपत्रको दर्ता नपाइएपछि लाभग्राही पुन ः सदरमुकाम दिक्तेल नै पुग्नुपर्ने झण्जटमा परेका छन् ।
परिचयपत्र भएपनि दर्तामा नपाएपछि विशेषगरी वृद्धवृद्धा तथा अपाङ्गता भएका लाभग्राहीले समस्या झेल्नु परेको दुखेसो गरेका छन् । वर्षाका कारण कच्ची सडक बिग्रिएका कारण स्थानीयबासी गाडी रिजर्भ गरेर कष्टका साथ दिक्तेल पुग्नुपर्ने बाध्यता रहेको छ ।
परिचयपत्रको प्रतिलिपि भएर पनि दर्ता नै छैन भनेपछि मनै मरेको खार्मीका जेष्ठ नागरिक गोबरधन राईले बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैङ्क परिवर्तन हुँदासमेत लाभग्राहीलाई समस्या भएको हो ।
सालपा विकास बैङ्कले यसअघि वितरण गर्दै आएको दशवटा वडामध्ये पाँचवटा वडा यस आर्थिक वर्ष २०८२÷८३ देखि छाडेपछि अर्को बैङ्क परिवर्तन गर्नुपर्दा लाभग्राही समस्यामा परेका हुन् ।
सालपा विकास बैङ्कले छाडेको वडा नम्बर–८ दोर्पाबुवालुङ र ११ खार्मीको अहिलेसम्म बैङ्क नै टुङ्गो लागेको छैन । बैङ्क टुङ्गो लागेका वडाका लाभग्राहीका लागि समेत नयाँ खाता खोल्न बैङ्कहरुले अनिवार्य राष्ट्रिय परिचयपत्र ल्याएर आउन भनेपछि झनै समस्यामा परेका छन् ।
वडा नं. ८ दोर्पाबुवालुङमा नविल बैङ्क र वडा नं. ११ खार्मीमा एनआईसी एसिया बैङ्कले सामाजिक सुरक्षाभत्ता वितरणको काम गर्ने भनेर सहमति गरेपनि सम्झौता गर्न नआएको नगरपालिकाले जनाएको छ । गत साउन–१ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका र बैङ्कबीच भएको सहमतिअनुसार सामाजिक सुरक्षाभत्ता वितरणका लागि सम्झौता गर्न नआएपछि भदौ–८ गते लिखितरुपमा बैङ्कलाई पत्राचार गरिएको नगरप्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभएको छ ।
बैङ्क परिवर्तन तथा राष्ट्रिय परिचयपत्र बनाउनका लागि वृद्धावस्थाका अधिकांश लाभग्राहीहरु गाडी रिजर्भ गरेर दिक्तेल आउने गरेका छन् । रिजर्भ गरेको गाडी लिएर आउँदा पनि समयमा राष्ट्रिय परिचयपत्र नबन्दा काम गर्न नपाएका लाभग्राहीहरु होटलमा बस्नुपर्दा थप समस्यामा परेका छन् ।
