Tuesday, April 21

दाहाल समूह खार्मीको प्रायोजनमा कालिका माविमा प्रतियोगितात्मक कार्यक्रम

–रामधन राई
खोटाङ, २२ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजित अन्तर विद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा जगत आधारभूत विद्यालय खार्मी प्रथम बनेको छ । कालिका माध्यमिक विद्यालय खार्मीले आयोजना गरेको प्रतियोगितामा मारुनी नृत्य प्रस्तुत गर्दै जगत आवि प्रथम बनेको हो ।

दाहाल समूह खार्मीको प्रायोजनमा भएको विविध प्रतियोगितात्मक कार्यक्रममध्ये सामुहिक नृत्यतर्फ आयोजक कालिका मावि खार्मी द्धितीय र जनकल्याण आधारभूत विद्यालय तृतीय बनेको निर्णायक सोनाम राईले बताउनुभयो । कालिका माविको प्राङ्गणमा शुक्रबार आयोजित प्रतियोगितामा पार्वती आवि र जालपा आविले सान्तवना स्थान हात पारेका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने समूहले क्रमशः नगद रु छ हजार, रु चार हजार, रु दुई हजार र रु ६००÷६०० प्राप्त गरेका छन् । यस्तै, हाजिरीजवाफ प्रतियोगितातर्फ कालिका मावि (ख) प्रथम, कालिका मावि (क) द्धितीय र जालपा आधारभूत विद्यालय तृतीय बनेको कार्यक्रम संयोजक शिक्षक नगेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहले क्रमशः नगद रु तीन हजार, रु दुई हजार र रु एक हजार नगद प्राप्त गरेको शिक्षक श्रेष्ठले जनाउनुभयो । विभिन्न विद्याका प्रतियोगितामा विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष ईखबहादुर राईले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगितामा सहभागी सबै छात्र÷छात्रालाई स्टेशनरीसमेत वितरण गरिएको प्रयोजक दाहाल समूहले जनाएको छ । खार्मीमा पर्ने सोती दाहाल समूहले प्रायोजन गरेको बृहत कार्यक्रममा एकल गायन, स्मरण खेल, हिसाब दौड, निबन्ध लेखन, बेलुन फुटाइ, हण्डिफोर लगायतका प्रतियोगिता समेटिएको थियो ।

तिहार खर्च कटाएर स्वेच्छाले सङ्कलन गरेको रकमबाट खार्मीभरका विद्यार्थीका हितमा खर्च गरेको दाहाल समूहले जनाएको छ । विद्यालयका बालबालिकाको प्रतिभा उजागार गराउँदै अतिरिक्त क्षमता अभिवृद्धिका लागि तिहार खर्च कटाएको कालिका माविका शिक्षक तथा दाहाल समूहमा आवद्ध दिपेन्द्र दाहालले जनाउनुभएको छ ।

कार्यक्रम सञ्चालन गर्नका लागि करिब रु ४० हजार खर्च भएको जनाइएको छ । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, जेष्ठ नागरिक, समाजसेवी, शिक्षाप्रेमी लगायतको उपस्थिति थियो ।