Tuesday, April 21

खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि दोर्पाबुवालुङको पोल्टामा

खोटाङ, २९ कातिक । श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटे लफ्याङ खोटाङले आयोजना गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं. ८ दोर्पाबुवालुङले जितेको छ । विद्यालयको ६५ औँ वार्षिक उत्सव तथा १४ औँ अक्षयकोष स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेता बुवालुङले नगद रु २५ हजार र उपविजेता नेर्पाले रु १५ हजारसहित ट्रफी हात पारेको छ ।

लफ्याङस्थित श्री माविको प्राङ्गणमा शनिबार सम्पन्न फाइनल खेलको सुरुवातदेखि नै नेर्पालाई दबाबमा राख्दै बुवालुङले पहिलो, तेस्रो र चौथो सेट जित्दा नेर्पाले एक सेट मात्रै जितेको थियो । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि साकेला गाउँपालिकाका प्रमुख एवम् विद्यालयका पूर्वविद्यार्थी रविप्रकाश राई, लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईले पुरस्कार वितरण गर्नुभएको छ ।

भलिबल प्रतियोगितामा ११ टोलीले सहभागिता जनाएको विद्यालयका शिक्षक रविन सुनुवारले जानकारी दिनुभएको छ । यस्तै, नगरपालिकाभित्र सञ्चालित माविस्तरीय खुला नृत्य प्रतियोगितामा माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका सुजता राई प्रथम, पञ्च मावि दिक्तेलका प्रतीक आचार्य दोश्रो र सरस्वती मावि पाथेकाकी अनिता सार्की तेश्रो भएका छन् । निर्णायक अन्योल राई, रशा प्रधान र सुमन खड्काको निर्णय अनुसार नृत्यमा विजेता भएका उनीहरुले क्रमश ः नगद रु दश हजार, रु सात हजार र रु पाँच हजारसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

नृत्य प्रतियोगितामा १५ वटा विद्यालयले सहभागिता जनाएको थियो । यसैगरी, वार्षिक उत्सवकै अवसरमा स्वर्गीय बुबा नरबहादुर कटवाल र स्वर्गीय आमा विष्णुमाया कटवालको स्मृतिमा छोरा नरेश कटवालले रु ५१ हजार १०१ राशिको अक्षयकोष स्थापना गरिदिनुभएको छ । योसँगै उक्त विद्यालयमा अक्षयकोष १६ वटा पुगेको छ ।

अक्षयकोषको कूल पुँजी रु २२ लाखभन्दा बढी पुगेको प्रधानाध्यापक ज्ञानेन्द्रकुमार राईले बताउनुभयो । कातिक–२७ गते कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गर्नुभएको वार्षिक उत्सवको अवरमा विद्यार्थीहरुलाई विद्यागत पुरस्कार वितरण, अक्षयकोषका संरक्षकलाई सम्मान लगायत विभिन्न कार्यक्रम गर्दै समापन गरिएको विद्यालयका लेखापाल गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।