
खोटाङ, २९ कातिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले दिक्तेल बजारमा जनप्रदर्शन गरेको छ । लोकतन्त्रको जगेर्ना तथा संविधानको रक्षाका लागि भन्दै एमाले खोटाङले शनिबार दिक्तेल बजारमा जनप्रदर्शन गरेको हो ।
दिक्तेलस्थित पुष्पलाल स्मृति भवनबाट शुरु भएको नाराजुलुससहितको जनप्रदर्शनले दिक्तेल बजार परिक्रमा गरेको थियो । प्रदर्शनकै क्रममा त्रिवेणीचोकमा आयोजित कोणसभालाई एमाले केन्द्रीय उषाकला राई, भानुचोकमा आयोजित कोणसभालाई रमेश पौडेल, पुरानो बेसक्याम्प आयोजित कोणसभामा खगेन्द्र राई र किरातचोकमा पोलिटब्यूरो सदस्य विशाल भट्टराईले सम्बोधन गर्नुभएको थियो ।
जिल्लास्थित दशवटै स्थानीय तहका नेता तथा कार्यकर्ता सहभागी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला इन्चार्जसमेत रहनुभएका पोलिटब्यूरो सदस्य भट्टराईले चुनावमा गठबन्धन नगरी एक्लाएक्लै सहभगी हुने हो भने एमालेलाई कसैले हराउन नसक्ने दाबी गर्नुभएको छ । “खोटाङमा एमाले नेता तथा कार्यकर्ताको जनतासँग नङ र मासुको जस्तो सम्बन्ध छ । त्यो सम्बन्धका कारण खोटाङका दश स्थानीय तहमध्ये आठ र दुवै प्रदेशसभा तथा प्रतिनिधिसभामा एमालेलाई कसैले जित्न सक्दैन”, उहाँले भन्नुभयो, “तपाईहरु कसैको क्षणिक कुरा सुनेर बहकाउमा लाग्न जरुरी छैन । एमाले देश र जनताका लागि सदैव लडिरहन्छ । एमालेलाई कसैले छेक्न सक्दैन ।”
एमाले केन्द्रीय समितिको देशव्यापी कार्यक्रम गर्ने निर्णयअनुसार खोटाङमा आयोजित जनप्रदर्शन शुरु हुनुभन्दा अगाडि युवा सङ्घ नेपालले समेत कार्यक्रम आयोजना गरेको थियो । युवा सङ्घ खोटाङले दिक्तेल बजारमा मोटरसाईकल ¥याली प्रदर्शन गरेको हो ।
