Monday, April 20

एमाले महाधिवेशन प्रतिनिधि छनोट : खोटाङमा भाँडभैलो, निर्णय सच्याउन माग गर्दै उजुरी

खोटाङ, १५ मङ्सिर । महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङमा भाँडभैलो सुरु भएको छ । जिल्ला कार्यसमितिले सर्वसहमतिमा छनोट गरिएको भन्दै दश जनाको नाम सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले उक्त निर्णय सच्याउन माग गर्दै केन्द्रीय सङ्गठन विभागमा उजुरी दिएका छन् ।

नेकपा (एमाले) कोशी प्रदेश समितिलाई बोधार्थ दिइएको उजुरीमा २८ जना युवा नेताहरुले हस्ताक्षर गरेका छन् । कोशी प्रदेश समिति लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे लगायतका युवा नेताहरुले हस्ताक्षर गर्नुभएको उजुरीमा केन्द्रीय नेताहरुले आफ्नो गोजिका व्यक्तिलाई प्रतिनिधि बनाएको भन्दै निर्णय सच्याउन माग गरेका छन् ।

केन्द्रीय नेताहरुले विधि र विधान विपरित निर्वाचन समितिलाई समेत बेवास्ता गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रहार गरेको असन्तुष्ट पक्षले पत्रकार सम्मेलनमार्फत जनाएको छ । दिक्तेलस्थित एल्लो हाउसमा पत्रकार सम्मेलन गर्दै उनीहरुले केन्द्रीय नेताहरुको इसारामा जिल्ला कार्यसमितिले आफूखुसी सार्वजनिक गरेको निर्णयलाई बदर गरेर लोकतान्त्रिक पद्धतिमार्फत प्रतिनिधि छनोट गर्न माग गरेका छन् ।

एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, प्रदेश सचिवालय सदस्य विणादेवी राई, सदस्य पुष्पकला भुजेल, जिल्ला अध्यक्ष राई स्वयम्, पूर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष कुमारप्रसाद आचार्य, सचिव सुरेन्द्रकुमार राई, उपसचिव कविता राई, सचिवालय सदस्य दिपक ठटाल र सदस्य जगत किराती रहनुभएको छ । यही मङ्सिर–२७ गतेबाट भक्तपुरमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि खोटाङमा ६५ जनाको उम्मेदवारी परेको थियो ।

महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गर्ने पार्टी सदस्यहरु र महाधिवेशन प्रतिनिधि छनोटका लागि समन्वय, सहजीकरण र व्यवस्थापन गर्न बनेको समिति तथा महाधिवेशन प्रतिनिधि छनोट निर्वाचन समितिबीच छलफल गरेर सर्वसहमतिमा प्रतिनिधि छनोट गरिएको अध्यक्ष राईले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ । असन्तुष्ट पक्षले उठाएको विषयमा जानकारी लिन फोन सम्पर्क गर्दा उपाध्यक्ष आचार्यले भन्नुभयो, “ठूलो पार्टीको महाधिवेशन प्रतिनिधि छनोट हुनु सबैको चाहना हुन्छ । तर, सबैलाई अटाउन सकिने अवस्था थिएन”, उहाँले भन्नुभयो, “सबै पक्षसँगको व्यापक छलफलपछि निर्णय गरेका हौँ । कसैले भन्दैमा यो निर्णय बदर हुँदैन ।”

पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समितिका अध्यक्ष गोपाल आचार्यले पाँच हजार ६० जना पार्टी सदस्यको भावना विपरित नेताहरुले निर्णय गरेको आरोप लगाउनुभएको छ । पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश लेखा आयोगका सचिव घिमिरे, एमाले खोटाङका जिल्ला सदस्य एवम् खेलकुद महासङ्घका केन्द्रीय सदस्य आशिष राई, निवर्तमान सचिवालय सदस्य एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राई, नगर समिति अध्यक्ष आचार्य, राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य डेबिट राई लगायतको सहभागिता थियो ।

एमाले महाधिवेशनका लागि खोटाङबाट पोलिटब्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज विशाल भट्टराई, केन्द्रीय सदस्यहरु उषाकला राई, खगेन्द्र राई, रमेशकुमार पौडेल र अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले प्रतिनिधि हुनुहुन्छ । यस्तै, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट एमाले प्रवेश गर्नुभएका केन्द्रीय सदस्यहरु बबि चाम्लिङ र अम्बिका राईसमेत महाधिवेशन प्रतिनिधि हुनुभएको छ ।