
खोटाङ, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा खोटाङका पाँच नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । केन्द्रीय अध्यक्षका उम्मेदवार निवर्तमान केन्द्रीय अध्यक्ष केपी ओली समूहबाट निवर्तमान पोलिटब्यूरो सदस्य विशाल भट्टराई, निवर्तमान केन्द्रीय सदस्य उषाकला राई र कोशी प्रदेश सचिवालय सदस्य विणादेवी राई उम्मेदवारी दिनुभएको हो ।
ओली समूहकै निवर्तमान केन्द्रीय सदस्यहरु खगेन्द्र राई र रमेशकुमार पौडेल समूहमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका खगेन्द्र र रमेशकुमार भर्खरै अर्का अध्यक्षका उम्मेदवार निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहमा खुल्नुभएको समाचार स्रोतले जनाएको छ ।
विशाल र रमेशकुमार खुला केन्द्रीय सदस्य तथा विणादेवीले खुला महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ । उषाकलाले आदिवासी जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य तथा स्वतन्त्र उम्मेदवारी दर्ता गाराउनुभएका खगेन्द्र कोशी प्रदेश भूगोलबाट केन्द्रीय सदस्यको उम्मेदवार रहनुभएको एमाले खोटाङका जिल्ला उपाध्यक्ष कुमार आचार्यले जानकारी दिनुभएको छ ।
पार्टीको केन्द्रीय अनुशासन आयोगको सदस्यमा खोटाङकै कर्ण घलेसमेत उम्मेदवार रहनुभएको एमाले खोटाङले जनाएको छ । उम्मेदवारी दर्ता गराउनुभएका एमाले नेताहरु आ–आफ्नो पक्षमा मतदाता तान्नका लागि प्रचार–प्रसारमा जुट्नुभएको छ ।
खुला केन्द्रीय सदस्यका उम्मेदवार विशाल एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक तथा उषाकला कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री हुनुहुन्छ । रमेशकुमार युवा सङ्घ नेपालका पूर्वअध्यक्ष तथा खगेन्द्र राष्ट्रिय जनसाँस्कृति महासङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।
खुला महिला केन्द्रीय सदस्यका उम्मेदवार विणादेवी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान उपप्रमुख हुनुहुन्छ । महाधिवेशनमा खोटाङबाट केन्द्रीय सदस्य (महाधिवेशन आयोजक समिति सदस्य) बाहेक दश जना प्रतिनिधि सहभागी छन् ।
जिल्लाबाट छनोट भएका अधिकांश महाधिवेशन प्रतिनिधि ओली समूहका रहेको समाचार स्रोतले जनाएको छ । एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज (मङ्गलबार) अपरान्ह ४ः०० बजेबाट मतदात हुने जनाइएको छ ।
विद्युतीय प्रणालीबाट गरिने मतदानका लागि तयारी भइरहेको एमालेले जनाएको छ । विद्युतीय प्रणालीबाट गर्न लागिएको मातदानमा एक जनाले सबैलाई भोट हाल्न कम्तीमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ ।
निर्वाचन सकिएको एक÷दुई घण्टाभित्र परिणाम सार्वजनिक हुने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा नेताहरु ओली र पोखरेलबीच छुट्टाछुट्टै समूह बनाएर चुनावी माहोलमा होमिएका छन् ।
