
खोटाङ, १५ पुस । नेपाली काँग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि रुद्र गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएको छ । रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा मङ्गलबार आयोजित कार्यक्रममा माधिवेशन प्रतिनिधि गिरी काँग्रेस परित्याग गरेर रास्वपा प्रवेश गर्नुभएको हो ।
राष्ट्रिय झण्डा ओढेर रास्वपाको केन्द्रीय कार्यालय पुग्नुभएका गिरीलाई पार्टीका उपसभापति डिबी अर्यालले खादा लगाएर स्वागत गर्नुभएको थियो । पूरानो पार्टीले देश र जनताको पक्षमा काम गर्न नसक्ने भएकाले आफूसँगै सय जनाभन्दा बढी काँग्रेससहित विभिन्न पार्टीका कार्यकर्ता लिएर रास्वपा प्रवेश गरेको गिरीले बताउनुभएको छ ।
काँग्रेस परित्याग गरेर रास्वपा प्रवेश गर्नुभएका गिरीले पार्टीले दिएको जिम्मेवारीको आधारमा सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । काँग्रेस खोटाङको सातौँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गिरी रास्वपा प्रवेश गर्नुभएपछि सामाजिक सञ्जालमार्फत बधाई दिने तथा गाली गर्नेहरुको लर्को लागेको छ ।
