Monday, April 20

छोरीहरुलाई चाहिने भएपछि ७० वर्षको उमेरमा नागरिकता लिएँ : केशरबहादुर बढाथोकी

खोटाङ, २० पुस । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले झण्डै ७० वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । वि.सं. २०१३ साल फागुन–७ गते जन्मनुभएका बुढाथोकीले आज (आइतबार) जिल्ला प्रशासन कार्यालय खोटाङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भएपनि नागरिकता लिएको केशरबहादुरले बताउनुभएको छ । “म सानै उमेर (१४ वर्ष)को हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कन्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लिला भट्टसँग विवाह गरेँ”, उहाँले भन्नुभयो, “हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा–१२ मा पढ्दै छिन् । उनलाई नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।”

घर छाडेको ५६ वर्षपछि जिल्ला फर्कनुभएका केशरबहादुरलाई जेठा दाजु मदनबहादुर बुढाथोकीको सनाखतमा प्रशासनले नागरिकता दिएको छ । “मैले पढेलेखेको थिइनँ । नागरिकता बनाएर पनि के काम भन्ने लाग्थ्यो ! तर, मेरो नागरिकता नहुँदा छोरीहरुलाई समस्या पर्दो रहेछ !”, केशरबहादुरले भन्नुभयो, “आफूले केही नगरेपनि छोरीहरुलाई केही गराउनुपर्छ भन्ने लागेको छ । तर, मसँग नागरिकता थिएन । सबैको सहयोगमा आज जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको छु । अहिले आएर मात्रै आफूलाई नेपाली नागरिक भएको महसुस भएको छ ।”

झण्डै सात दशकपछि प्राप्त भएको नेपाली नागरिकताको प्रमाणपत्रले केशरबहादुरको परिवारमा नयाँ आशा थपेको भतिज श्यामकुमार बुढाथोकीले बताउनुभएको छ । “सानै उमेरबाट सम्पर्कविहीन हुनुभएका काका ५६ वर्षपछि घर आउनुभयो । लामो समयसम्म सम्पर्कविहीन हुनुभएको व्यक्ति घर आएपछि परिवारमा खुशीयाली छाएको छ”, उहाँले भन्नुभयो, “नागरिकता बनाउनका लागि उहाँसँग कुनै प्रमाण थिएन । करिब हप्ता दिन लगाएर सबै प्रमाण जुटायौँ । आज जिल्ला प्रशासन कार्यालयले काकालाई नेपाली नागरिकताको प्रमाणपत्र दिएपछि हर्षित हुनुभएको छ ।”

आफूले नेपाली नागरिकताको प्रमाणपत्र पाएसँगै श्रीमतीको विवाह दर्ता र छोरीहरुको जन्मदर्ता गर्ने तयारी गरेको केशरबहारले बताउनुभएको छ । विवाहपछि ससुरालीले दिएको जग्गामा घर बनाएर कन्चनपुरमै बस्दै आउनुभएका केशरबहादुरको कान्छी छोरी कक्षा–३ मा अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।

चेतना अभावका कारण बुबाआमाले नागरिकता नबनाउँदा जिल्लाका धेरै परिवारमा जन्मिएका छोराछोरीमा समस्या देखिने गरेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । कुनै पनि नागरिक नेपाली नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आफू सरुवा भएर खोटाङ आउनासाथ सहज वातावरण निर्माण गरेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभएको छ ।