Monday, April 20

छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माविलाई  

खोटाङ, २९ पुस । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माध्यमिक विद्यालय धितुङले जितेको छ । नगरपालिकाभित्र सञ्चालित १३ वटा माध्यमिक विद्यालयका छात्रछात्रा सहभागी प्रतियोगितामा सात स्वर्ण, तीन रजत र छ कास्य पदकसहित बुलापन्थे माविले छैटौँ नगरपालिकास्तरीय प्रतियोगिताको उपाधि जितेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खौलेको व्यवस्थापनमा सञ्चालन गरिएको नगरपालिकास्तरीय प्रतियोगितामा दुर्छिम मावि दुर्छिम दोस्रो भएको छ । प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य पदकसहित दुर्छिम मावि दोस्रो भएको आयोजकले जनाएको छ ।
भलिबल, कबड्डी र एथलेटिक्सका १५ ईभेण्डमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत र एक कास्य पदकसहित पिपलडाँडा देवीस्थान मावि मङ्गलटार तेस्रो भएको छ । यस अघि लगातार तीन वर्षको उपाधि जितेर रनिङ शिल्ड आफ्नो बनाएको पिपलडाँडा माविले यस वर्ष तेस्रो स्थानमा चित्त बुझाएको हो ।
खेल क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरुको लागि महत्वपूर्ण मानिएको माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस–२६ गतेदेखि अर्खौलेको विजुलेस्थित साल्पा खेलमैदानमा सञ्चालन गरिएको थियो । ३० स्वर्ण, ३० कास्य र ३० रजत पदकको लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा नगरपालिका भरीका १२ सामुदायिक र एक संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा तीन स्वर्ण, पाँच रजत र दुई कास्य पदकसहित महेन्द्रोदय मावि चौथो, तीन स्वर्ण, एक रजत, दुई कास्यसहित लक्ष्मी मावि बडहरे पाचौँ, दुई स्वर्ण, सात रजत र पाँच कास्यसहित ज्योति मावि राजापानी छैटौँ, दुई स्वर्ण, तीन रजत र दुई कास्य पदकसहित च्यास्मीटार मावि आठौँ भएका छन् । यस्तै, एक स्वर्ण, चार रजत र चार कास्य पदकसहित सरस्वती मावि अर्खौले नवौँ, एक स्वर्ण र एक रजत पदकसहित जनता मावि सल्ले दशौँ, तीन कास्य पदकसहित कालिका मावि बाहुनीडाँडा एघारौँ, समान एक÷एक कास्य पदकसहित मालिकादेवी मावि कदुवा र हलेश्वर इङ्ग्लिस बोर्डिङ स्कूल हलेसी बाह्रौँ भएको प्रतियोगिताको व्यवस्थापकीय भूमिका निर्वाह गरेको सरस्वती माविका प्रधानाध्यापक नवीन चाम्लिङले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा दाम्ली माविले कुनै पनि पदक ल्याउन नसकेको आयोजकले जनाएको छ । प्रथम हुने बुलापन्थे माविले नगद रु २५ हजारको साथमा शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, दोस्रो हुने दुर्छिम मावि र तेस्रो हुने पिपलडाँडा माविलाई नगद रु १५ र रु दश हजारकोसाथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख सुरेश निरौलाले जानकारी दिनुभएको छ ।
प्रतियोगिताका विद्यागत विजेता खेलाडी विद्यार्थीहरुले प्रमाणपत्र र मेडल पाएका छन् । प्रतियोगिताको उद्घाटन नगरप्रमुख विमला राईले गर्नुभएको थियो भने, पुरस्कार वितरण उपप्रमुख रमेशकुमार राउतले गर्नुभएको छ ।
प्रतियोगितामा सहभागी सबै विद्यालयलाई यातायात, खाना र बासको लागि दूरीको हिसाबले खर्च प्रदान गरिएको नगरपालिकाले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि नगरपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको छ ।