Monday, April 20

सशस्त्र प्रहरी बलको २५ औँ स्थापना दिवस : खोटाङका ३५ जेष्ठ नागरिक सम्मानित

खोटाङ, २ माघ : २५ औँ सशस्त्र प्रहरी स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसी खोटाङले जिल्लाका ३५ जना जेष्ठ नागरिकलाई न्यानो टोपी वितरण गर्दै सम्मान गरेको छ । जाडो मौसमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङले ७० वर्षमाथिका ३५ जना जेष्ठ नागरिकलाई आज (शुक्रबार) जाडोमा प्रयोग हुने न्यानो टोपी प्रदान गर्दै सम्मान गरेको हो ।

समाजमा जेष्ठ नागरिकप्रति सम्मान, सहकार्य र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ । जेष्ठ नागरिकहरु समाजका मार्गदर्शक तथा अनुभवी व्यक्तित्व भएकाले उनीहरूको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति सशस्त्र प्रहरी बल सदैव संवेदनशील र प्रतिबद्ध रहेको गुल्मपति प्रनाउ न्यौपानेले बताउनुभएको छ ।

जेष्ठ नागरिक सङ्घ खोटाङका अध्यक्ष धनपति आचार्यले सशस्त्र प्रहरी बलले गरेको यस किसिमको मानवीय तथा सामाजिक उत्तरदायित्वपूर्ण कार्यको प्रशंसा गर्नुभएको छ । दिक्तेलस्थित जेष्ठ नागरिक सङ्घ खोटाङको कार्यालय परिसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष आचार्यले सशस्त्र प्रहरीले आयोजना गरेको सम्मान कार्यक्रमले सुरक्षा निकाय र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल हलेसी गुल्मले आफ्नो २५ औँ स्थापना दिवसको अवसर पारेर गत पुस–१६ गते जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै पर्यटकीयस्थल मझुवागढीमा फलामे फलैंचा निर्माण गरिदिएको छ । महिना दिनसम्मा मनाइने स्थापना दिवसको अवसरमा अन्य विविध कार्यक्रमहरु आयोजना गर्नेक्रम जारी रहेको सशस्त्र प्रहरी बल हलेसी गुल्मले जनाएको छ ।

सशस्त्र प्रहरी बल हलेसी गुल्मका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको करिब ७४ रोपनी क्षेत्रफल जमिनमा आफ्नै भवन निर्माण गरेर जिल्लामा सेवा प्रदान गरिरहेको छ । हलेसी गुल्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझुवागढीमा वि.सं. २०६६ सालमा स्थापना भएको हो ।