
–रामधन राई
खोटाङ, १५ माघ । गायक रेवत राईले अर्को मर्मस्पर्शी गीति भिडियो ‘खरको छानो’ सार्वजानिक गर्नुभएको छ । ‘तिमी तारे भीर’ (मेल भर्सन) ‘कान्छीलाई सम्झी’, ‘चार धाम’, ‘तिमीलाई मायाँ गरेँ’ ‘आपाको छोरी’, ‘१६ वर्षे ठिटो’जस्ता चर्चित गीतहरुमार्फत नेपाली गीतसँगीतप्रेमीको मन समाइसक्नुभएका राईले ‘खरको छानो’ गीति भिडियो हालै सार्वजानिक गर्नुभएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका गायक राईले आफ्नै युट्युब च्यानल ‘रेवत राई’मार्फत उक्त गीति भिडयो सार्वजानिक गर्नुभएको छ । सँगीतकारको रुपमा समेत सक्रिय गायक राई पछिल्लो केही वर्षदेखि युके (बेलायत)मा बसोबास गर्दै आउनुभएको छ ।
वि.सं. २०५२÷५३ सालतिरको पृष्टभूमिमा बुनिएको गीति कथा हो ‘खरको छानो’ । नेपाली ग्रामीण जनजीवन तथा बाध्यतासहितको यथार्थमा गीत डोहोरिएको देखिएको छ । नवराज मगरको शब्द तथा हरि लम्सालको सँगीत रहेको गीतको लागि किरण राईले भिडियो निर्देशन गर्नुभएको छ ।
गीतमा रिकेश गुरुङको एरेजमेण्ट तथा चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । ग्रामीण भेगमा बसोबास गरिरहेको एक सामान्य परिवारको बाध्यतासँगै सिर्जना भएको दर्दलाई भिडियोमा उतारिएको छ ।
भिडियोमा सुजन जिम्बा, थिन्ले ल्हामो, बविन राई, बदुमहाङ राईले अभिनय गर्नुभएको छ । काभ्रेको ग्रामीण बस्तीमा छाँयाङ्कन गरिएको भिडियोमा निशान लुईँटेल, खम्बासिं लामा, अबि राई, सुवराज लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ ।
वि.सं. २०५२ सालतिर वैदेशिक रोजगरीमा जानेक्रम भर्खर–भर्खर बढ्दै थियो । जसोतसो खुशी साथ नै गुजारा चलाइरहेको अवस्थामा थप खुशी बटुल्न घर परिवार छाडेर अरब जानुपर्ने पात्रको बिबशताबाट कथा अघि बढ्दै जान्छ । उक्त पात्र केही सपना सङ्गालेर घर फर्कँदा खरको छानो भएको घरसँगै छोरालाई बाढी–पहिरोले बगाएर मृत्यू भईसकेको मर्मस्पर्शी कथा भिडियोमा उतारिएको छ ।
दमको रोगी बुबाको उपचार गर्न तथा छोराको पढाइको लागि बन्दोबस्ती मिलाउन विदेश गएका उक्त पात्रको सपना बाढीपहिरोले बगाइदिएको कथालाई खिपेर भिडियोमार्फत प्रस्तुत गरिएको छ । भिडियोले थाहै नपाइ मन–मुटुलाई छोएर आँखाबाट बगेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
शब्द, सँगीत, स्वर, एरेन्जमेण्ट लगायत भिडियोको सुन्दर तादम्यता रहेको युट्युबमा प्रतिक्रियाहरु छन् । यसअघि, दयाहाङ राई, मिरुना मगर लगायतका कलाकार अभिनित ‘तिमी तारे भीर’, उपेन्द्र सुब्बा, मेनुका प्रधान अभिनित ‘कान्छीलाई सम्झी’, नीता ढुङ्गाना, अनुप योङचार लगायतका कलाकार अभिनित ‘चार धाम’ लगायतका गीतहरुले चर्चा कमाइसकेको छ ।
‘खरको छानो’ बोलको गीतिभिडयोलाई पनि श्रोता–दर्शकलले उत्तिकै मन पराइदिने बिश्वास लिएको गायक रेवत बताउनुभएको छ । गायक राईले नेपाली साँगीतिक जगतमा पु¥याउनुभएको योगदानको कदर गर्दै विभिन्न सङ्घ÷संस्थाले पुरस्कृत तथा सम्मानसमेत गरेको छ ।
भिडियो हेर्न तल क्लिक्क गर्नुहोला !
