Monday, April 20

प्रतिनिधिसभा निर्वाचन : बढ्यो चुनावी सरगर्मी, उम्मेदवारहरु जनताको घरदैलोमा व्यस्त

खोटाङ, २० माघ । नेपाली काँग्रेस खोटाङका उम्मेदवार वीरकाजी राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । काँग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि एवम् पूर्वजिल्ला सचिव राईले काठमाडौँको चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको हो ।

उम्मेदवार राईको साथमा कोशी प्रदेशका महामन्त्री एवम् निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, जिल्ला उपसभापति एवम् हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख इवन राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ । काँग्रेस खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा चुनावी कमाण्डर (नेता) तोकेर अभियान सुरु गरेको समाचार स्रोतले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उम्मेदवार देवबिक्रम राईले खोटेहाङ गाउँपालिकाको खोटाङबजारबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । एमाले खोटाङका अध्यक्षसमेत रहनुभएका राईले काठमाडौँ, इटहरी र गाईघाटको चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको हो ।

उम्मेदवार राईको साथमा एमाले केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराई, पूर्व जिल्ला अध्यक्षहरु बबि चाम्लिङ र रामप्रसाद दङ्गाल लगायतका नेताहरु सहभागी हुनुभएको छ । औपचारिक कार्यक्रमका लागि मिति तय नगरी पहिलो चरणमा घरदैलो अभियान सुरु गरिएको उम्मेदवार राईले बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाले माघ–७ गते दिक्तेल बजारबाट घरदैलो अभियान सुरु गर्नुभएको थियो । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. रोकाको घरदैलो अभियानमा डा. रोकासँगै छ जना पूर्वसांसद तथा केन्द्रीय नेताहरु सहभागी हुनुहुन्छ ।

दिक्तेलस्थित किरातचोकबाट घरदैलो अभियान सुरु गर्नुभएका डा. रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्व सांसदहरु टंक राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वउर्जा, जलश्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्वसामाजिक विकासमन्त्री राजन राईले साथ दिनुभएको छ । डा. रोकाले कृषकको आवाज बनेर प्रतिनिधिसभामा छिर्नका लागि आफूले यस पटकको निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभएको छ ।

चुनावी कमाण्डर तथा घरदैलो अभियान र औपचारिक कार्यक्रमसमेत तोकेर अभियानमा जुट्नुभएका डा. रोकाले तीनवटा स्थानीय तहको घरदैलो सम्पन्न गरिसक्नुभएको छ । डा. रोकाको चुनावी कमाण्डर नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् प्रर्वसांसद टङ्क राई खटिनुभएको छ ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा यस वर्ष पूरानै तीन राजनीतिक दल (काँग्रेस, एमाले र नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आगामी फागुन–२१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु जनताको घरदैलोमा पुगेर मतदाता रिझान थालेपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ । जिल्लाका साना–ठूला सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु आफ्नो पक्षमा जित निकाल्नका लागि मतदाता रिझाउन दिनरात नभनी खटिएका छन् ।

वि.सं. २०७९ सालको निर्वाचनलाई हेर्दा खोटाङमा एमालेको अवस्था बलियो देखिएको छ तर, यस पटकको अवस्था पहिलेजस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । श्रम संस्कृति पार्टी लगायत अन्य नयाँ राजनीतिक दलले जिल्लामा पछिल्लो समय सङ्गठन विस्तार गर्नुका साथै भोट काट्ने देखिएको छ ।

एमालेको २४ हजार २७१, काँग्रेसको १८ हजार ६७२, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ११ हजार ८४५, एकीकृत समाजवादीको तीन हजार ३६३, जसपा नेपालको दुई हजार २४८, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक हजार २५५ मत आएको थियो । तत्कालीन अवस्थामा जिल्लामा सङ्गठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा समानुपातिकमा एक हजार ४९७ मत खसेको थियो ।

आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।