Monday, April 20

धाप्लाङघाट पुल निर्माणको कामले गति लियो, स्ल्याब ढलानको काम सुरु

खोटाङ, २२ माघ । खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरबाहीले लामो समयसम्म अलपत्र परेको धाप्लाङघाटको मोटरेबल पुल निर्माणको कामले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा २०० मिटर लामो पुल निर्माणका लागि वि.सं. २०७३ असार–३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करिब नौँ वर्षदेखि निर्माणधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए ।

धाप्लाङघाटको मोटरेबल पक्की वि.सं. २०७४ भदौ–३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको पुलका लागि स्ल्याब ढलानको काम सुरु गरिएको । वि.सं. २०७६ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी धाप्लाङघाटको माटरेबल पक्की पुलका लागि सम्झौता गरिए पनि निर्माण कम्पनीमा आवद्ध ठेकेदारको लापारबाहीका कारण निर्माणको काम अलपत्र परेको हो ।

ठेकेदारको लापरबाहीले अलपत्र परेको धाप्लाङघाट पुल निर्माणका लागि खोटाङ प्रदेशसभा ‘ख’का सांसद एवम् कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्री भूपेन्द्र राईले निरन्तर खबरदारी गरेपछि अहिले पुल निर्माणले तीव्रता लिएको स्थानीयवासीले बताएका छन् । सङ्घीय सरकारको रु २१ करोड ६५ लाख लागतमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले निर्माणको जिम्मा लिएको पुल अलपत्र परेपछि लिड पार्टी स्वच्छन्द निर्माण कम्पनीलाई कालो सूचीमा राखेर धरौटी तानेपछि ज्वइन भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रा.लि.ले निर्माणको काम थालेको हो ।

विभिन्न कठिनाइका बीच निरन्तरको सङ्घर्ष पश्चात धाप्लाङघाटको मोटरेबल पुल निर्माणको कामलाई पुनः सुरु गराउन सफल भएको निवर्तमानमन्त्री राईले बताउनुभएको छ । “धाप्लाङघाट पुलमा पाँचवटा स्ल्याब रहन्छ । एउटा भर्खरै ढलान भएको छ । यस वर्ष कम्तिमा तीनवटा ढलान सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिवद्धता जनाएको छ”, उहाँले भन्नुभयो, “धाप्लाङघाट पुल सञ्चालनमा आएपछि खोटाङको समृद्धिको यात्रा सुरु हुन्छ । यसतर्फ निर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिन जरुरी छ ।”

पछिल्लो पटक थपिएको म्यादअनुसार वि.सं. २०८४ जेठ–१९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्छ । वि.सं. २०८३ चैत महिनाभित्रमा धाप्लाङघाटबाट सवारी साधन वारपार गराउने गरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

धाप्लाङघाट पुल निर्माणको काम ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहले जानकारी दिनुभएको छ । “धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको थियो । त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ । पानी चाँडै सुकाउन सके यो वर्ष थप दुईवटा स्ल्याब ढलान सकिन्छ ।”

धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि छवटा पिलर निर्माण गर्नुपर्नेमा चारवटा मात्र सकिएको छ । तर, निर्माण भएको एउटा पिलर गर्त वर्षको बाढीले बङ्ग्याएकाले पुनः निर्माण गर्नुपर्ने भएपछि अझै तीनवटा पिलर बनाउन बाँकी छ ।

धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौँअघि कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने गरिएको छ । तर, सुनकोशीमा पक्की पुल नहुँदा ठूलो सवारी साधन वारपार गर्ने अवस्था छैन् । मोटरसाइकल भने, झोलुङ्गे पुलबाट वारपार गर्ने गरिएको स्थानीयवासीले बताएका छन् ।

धाप्लाङघाटमा मोटरेबल पक्की पुल नहुँदा पालिकामा बाहिरबाट ल्याउने सामान ढुवानी महङ्गो हुनुका साथै स्थानीय उत्पादनलाई निर्यात गर्न कठिन भएको बराहपोखरी गाउँपालिकाका प्रमुख सालिकराम बञ्जराले बताउनुभएको छ । “धाप्लाङघाट पुल नबन्दा नाकाबन्दीमा बस्न बाध्य भएका छौँ । पछिल्लो समय पुल निर्माणको कामले गति लिएसँगै केही आशा जगाएको छ”, उहाँले भन्नुभयो, “निरन्तर खबरदारी आवश्यक छ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्छ ।”

धाप्लाङघाटमा पुल निर्माण भएपछि खोटाङको बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको छ । धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नभएसम्मका लागि सञ्चालन गर्न अस्थायी बेलिब्रिज जडानको कामसमेत थालिएको छ ।