
खोटाङ, २ फागुन । हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाएका आफ्ना नागरिकको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा चार महिनाअघि मेघालय जानुभएका वडा नं. ५ दुर्छिमका ५० वर्षीय रत्न राईको कोइलाखानीमा काम गर्दैगर्दा गत माघ–२२ गते भएको विष्फोटमा परेर ज्यान गएको पुष्टि भएपछि नगरपालिकाले रु ५१ हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।
गत असोज–९ गते मेघालय जानुभएका घरको अभिभावक रत्नको विष्फोटमा परेर ज्यान गएपछि परिवारका सदस्यलाई राहतस्वरुप घरैमा लगेर आर्थिक सहयोग रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । नगरपालिकाले उपलब्ध गराएको रकमको चेक शुक्रबार मृतक रत्नको श्रीमती मिना राई (तामाङ)लाई नगरप्रमुख राईले घरैमा लगेर प्रदान गर्नुभएको हो ।
दुर्छिमस्थित जोरकाफलका राई दम्पतीको दुई छोरा र दुई छोरी छन् । ज्यालामजदुरी कमाएको पैसाले घर व्यवहार धान्दै आउनुभएका अभिभावक रत्नको रोजगारीकै सिलसिलामा मेघालयको कोइलाखानीमा भएको विष्फोटमा मृत्यु भएपछि परिवारका अन्य सदस्यहरुको विचल्ली भएको स्थानीयले बताएका छन् ।
दिउँसोको समयमा भएको विष्फोटका घटनामा खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङ निवासी ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरले पनि ज्यान गुमाउनुभएको छ । विष्फोटका घटनामा ज्यान गुमाउनुभएका तीनै जनाको शव नेपाल निकाल्न नसकिने अवस्था भएपछि सिलोङको भालुपारा भन्ने ठाउँमा अन्त्येष्टि गरिएको जनाइएको छ ।
कोइलाखानीमा भएको विष्फोटमा ज्यान गुमाउने सालघारीका पूर्णिराम र सुरेन्द्र एकाघरको दाजुभाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । विष्फोटमा गम्भीर घाइते हुनुभएका भञ्ज्याङका नरबहादुरको उपचारको क्रममा गत माघ–२३ गते सिलोङस्थित निलग्रीन हस्पिटल (अस्पताल)मा मृत्यु भएको हो ।
विष्फोटमा गम्भीर घाइते भएका नेपालका चार जनाको सिलोङस्थित निलग्रीन हस्पिटल (अस्पताल)मा उपचार भइरहेको घटनास्थल पुग्नुभएका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभएको छ । प्रकाशका अनुसार बराहपोखरी गाउँपालिका–१ सालघारीका ४७ वर्षीय कर्णबहादुर खपाङ्गी मगर र भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ४८ वर्षीय दावा शेर्पा तथा छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका ललितबहादुर लुङ्गेली मगरको उपचार भइरहेको हो ।
रोजगारीको सिलसिलामा गत पुस–३ गते घरबाट हिँडेर भारतको मेघालय पुगेका तीन जना युवाको एउटै घटनामा ज्यान गएपछि बराहपोखरी गाउँपालिका शोकमा डुबेको छ । घटनाका मृतक परिवारलाई बराहपोखरी गाउँपालिकाले प्रतिव्यक्ति रु ५० हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभएको छ ।
कोइलाखानीमा भएको विष्फोटपछि सँगै काम गर्दै आउनुभएका सोही गाउँपालिका–१ वालम्पाका ताराबल मगरले फोनमार्फत घटनाको बारेमा जानकारी गराउनुभएको थियो । मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये विष्फोटका घटनामा ताराबल मात्रै सकुशल रहेको जनाइएको छ ।
मेघालयको अवैध कोइलाखानीमा भएको विस्फोटमा हालसम्म २७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विष्फोटको घटनामा दर्जनौँ कामदार अझै पनि कोइलाखानीको प्वालभित्रै फसेको अनुमान गरिएको छ ।
मेघालयमा भएको घटनापछि मृतकका परिवारलाई राहत तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियानसमेत सुरु गरिएको स्थानीय इन्द्र लिमेल मगरले जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर ग्रुप बनाएर थालिएको सहयोग सङ्कलन अभियानमा देश÷विदेशबाट नेपालीहरुले सहयोग गरिरहेका छन् ।
