Thursday, June 4

शितला माविको ६४ औँ वार्षिकोत्सव : विभिन्न विद्याका दर्जन बढी व्यक्ति सम्मानित

खोटाङ, ४ फागुन । शितला माध्यमिक विद्यालय खाल्लेले आफ्नो ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय र समाजमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न क्षेत्रका दर्जन बढी व्यक्तिलाई सम्मान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालित विद्यालयलाई सहयोग पु¥याउने दर्जन बढी व्यक्तिलाई सोमबार दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमध्ये सोही विद्यालयमा अध्ययन गरी उच्च ओहोदामा पुग्न सफल न्यायाधीश नवराज दाहाल र पूर्वन्यायाधीश पर्शु भट्टराईलाई सम्मान गरिएको छ । न्यायाधीश दाहाल र पूर्वन्यायाधी भट्टराईको उपलब्धिलाई विद्यालयले आफ्नो गौरवका रूपमा लिँदै सम्मान प्रकट गरेको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू नवराज केसी, कटकबहादुर खत्री र रामचन्द्र केसीलाई अभिभावकतर्फबाट सम्मान गरिएको छ । उत्कृष्ट शिक्षकका रूपमा पुष्पराज खत्री र मदनसेन राईलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा कार्यरत कार्यालय सहयोगी नारायण भुजेललाई नगद रु पाँच हजारसहित सम्मान गरिएको छ । विद्यालय स्थापना भएदेखि हालसम्मको एसएलसी परीक्षामा सर्वाधिक अङ्क ल्याउने सन्तोष खतिवडालाई पनि सम्मान गरिएको छ ।

यस्तै, साहित्य, कला, वक्तृत्वकला, दौड, नृत्य लगायत विभिन्न प्रतियोगितामार्फत विद्यालयका लागि योगदान पु¥याउने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । गजल विद्यामा विजय खड्का, वक्तृत्वकलामा प्रनिसा राई, दौड प्रतियोगितामा दिपेश सुचिकार तथा टेकबहादुर खत्रीलाई पुरस्कृत गरिएको हो ।

सम्मानित तथा पुरस्कृत व्यक्तिहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रकुमार बस्नेत लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको छ । विद्यालयले ६४ वर्षको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि, अभिभावक–विद्यालय सहकार्य सुदृढीकरण तथा विद्यार्थीको सर्वाङ्गिण विकासलाई केन्द्रमा राखेर वार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक मीनकुमार दाहालले जानकारी दिनुभएको छ ।