
खाेटाङ, २३ फागुन । खाेटाङमा गणना गरिएका मतमध्ये एक हजार २७७ मत बदर भएकाे पाइएकाे छ । केपिलासगढी, रावाबेँसी, ऐसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे १९ हजार ५०३ मत गणना गर्दा एक हजार २७७ मत बदर भएकाे हाे ।
मतदातामा मतदाता शिक्षा नपुगेका कारण धेरै सङ्ख्यामा मत बदर भएकाे जनाइएकाे छ । बदर भएका मतमध्ये अधिकांश एउटै मतपत्रमा दुई छाप हालेकाे पाइएकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएकाे छ ।
एउटामात्र निर्वाचन क्षेत्र रहेकाे खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे मत अग्रता कायमै रहेकाे छ । केपिलासगढी गाउँपालिका-१ फेदीका आरेनले चार हजार ७७४ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसका वीरकाजी राईकाे चार हजार ३७२, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे तीन हजर ९९२, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाकाे दुई हजार ८०८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीकाे एक हजार ६७९, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईकाे ९८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङकाे ७१७, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङकाे ३२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’काे ४४, नेपाल मदजुर किसान पार्टीका ध्यानप्रसाद ढकालकाे चार, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईका ३०५, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईकाे नाैँ, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङकाे सात मत खसेकाे जनाइएकाे छ । यस्तै, स्वतन्त्र उम्मेदवारहरु डा. राजकुमार राईकाे १६ र तीलकचन्द्र राईकाे १५ मत खसेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक लाख ४७ हजार १२० मतदाता रहेकाे जिल्लामा ६३ हजार ३५ मत मात्र खसेकाे जनाइएकाे छ । मत गणना छिटाे सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुईवटा मतगणनास्थल निर्माण गरेर गणना गर्ने काम भइरहेकाे छ ।
