
खोटाङ, २४ फागुन । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका एकराज र चन्द्रकला राईका कान्छो सन्तानका रुपमा वि.सं. २०५३ असोज–८ गते जन्मनुभएका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहनुभएका २९ वर्षीय आरेन यही फागुन–२१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युष्टि पार्टी (एमाले) खोटाङका अध्यक्ष देवबिक्रम राईलाई तीन हजार ८९८ मतले पछाडि पार्दै निर्वाचित हुनुभएको हो ।
मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी (एमएनओ)का सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी निर्माणमा जुट्नुभएका महासचिव आरेनले यो निर्वाचनमा १६ हजार ६१२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वि.सं. २०८० सालमा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी परित्याग गरेर श्रम संस्कृति पार्टी निर्माणमा जुट्नुभएका महासचिव आरेन पहिचानवादी नेताका रुपमा परिचित हुनुहुन्छ ।
सानै उमेरदेखि विभिन्न सङ्घ÷संस्थामा आवद्ध रहेर सामाजिक काम गर्दै खुला राजनीतिमा आउनुभएका महासचिव आरेनले अब प्रतिनिधिसभामा गएर भूइँ मान्छेको हित हुने किसिमको नीति निर्माण तथा उनीहरुको आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाउनुभएको छ । वि.सं. २०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिनुभएका महासचिव आरेन स्नातक तहका विद्यार्थी हुनुहुन्छ ।
जातीय विभेदविरुद्धको आन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका महासचिव आरेनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गर्नुभएको छ । दश वर्षअघि अन्तरजातीय विवाह गर्नुभएका महासचिव आरेन र प्रमिला दम्पतीको दुई छोरा छन् ।
श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)को गृह जिल्ला खोटाङमा महासचिव आरेनको उम्मेदवारी घोषणालाई निक्कै महत्वका साथ हेरिएको थियो । पार्टी स्थापना तीन महिनामै देशभरका जनताको उत्साह र समर्थनले जिल्लामा आफूहरुको जित भएको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताउनुभएको छ ।
ठूला राजनीतिक दलका उम्मेदवारहरुलाई पछाडि पार्दै महासचिव आरेन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कार्यकर्ता तथा समर्थकहरु खुशीयाली मनाइरहेका छन् । दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लामा पुरानै राजनीतिक दलबीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताउँदै आएका थिए ।
श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा खोटाङका पाँच जना नेताको समावेश भएको छ । आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे रहनुभएको छ ।
पार्टीको सिफारिसमा परेका उम्मेदवारहरुमध्ये सीताराम राई तत्कालीन जिल्ला विकास समिति खोटाङका उपसभापति हुनुहुन्छ भने, अन्य चार जना नयाँ अनुहारका छन् । पार्टी स्थापना भएको छोटो समयमै प्रतिनिधिसभा सदस्यमा आफ्ना उम्मेदवार आरेन विजयी भएपछि समर्थकहरु उत्साहित भएका छन् ।
निर्वाचनमा एमालेका देवबिक्रमले १२ हजार ७१४, नेपाली काँग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि रोकाले नौँ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले पाँच हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गर्नुभएको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ४७७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकीले १८२, जनता समाजवादी पार्टी (नेपाल)का सुनिल चाम्लिङले १११, मंगोल नेशनल अर्गनाइजेशनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवारहरु डा. राजकुमार राई २६ र तीलकचन्द्र राईले ४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो ।
प्रत्यक्षतर्फ खसेको मतमध्ये तीन हजार ९२८ मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । प्रत्यक्षतर्फको गणना सकिएलगत्तै समानुपातिक प्रणाली अन्तरगत खसेको मतसमेत गणना सुरु गरिएको जनाइएको छ ।
