
खाेटाङ, ४ चैत । काठमाडौँबाट मृत्युु संस्कारका लागि खाेटाङ आउने यात्रु लिएर आएकाे हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेँसीस्थित डाकमणि राईकाे घरमा आएकाे हेलिकोप्टर बुधबार मध्यान्ह दुर्घटनामा परेको हो ।
काठमाडौँबाट पाँच जना यात्रु लिएर आएको ‘नाइन एन-एएफक्यु` हेलिकप्टर अवतरण गर्नेक्रममा दुर्घटनामा परेको खाेटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएकाे छ । हेलिकप्टर दुर्घटनामा मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।
चालकसहित छ जना सवार हेलिकप्टर बारीको डिलमा अवतरण गरेपछि उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको केपिलासगढी गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ । बालाबेँसीमा भएकाे हेलिकप्टर दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएको छ ।
दुर्घटनाको बारेमा अनुसन्धान गर्न प्रहरी टाेली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खाेटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ ।
दुर्घटनास्थलमा घाइते भएकाहरुकाे उद्धारका लागि अर्को हेलिकप्टर पनि आइपुगेकाे स्थानीयले बताएका छन् ।
स्थानीय डाकमणि राईकाे श्रीमती ब्लास्टेम्मा भनिने मनलक्षी राईकाे शव एम्बुलेन्समा पठाएर आफन्तहरु हेलिकप्टरमा आएका थिए । बेलायतमा करिब महिना दिनअघि दुर्घटनामा परेर ज्यान गुमाउनुभएकी मनलक्षीकाे शव बेलायतबाट नेपाल फर्काएपछि दाहसंस्कारका लागि बुधबार बालाबेँसी ल्याउन लागिएको हाे ।
